चीनसँगका व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गराउँछौँः प्रधानमन्त्री प्रचण्ड

चीनसँगका व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गराउँछौँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा सबैभन्दा धेरै प्राथमिकता नेपाल चिनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने रहेको बताएका छन्। उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन्।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालमा दुईदेशबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्नमा प्राथमिकता दिएको बताए।

दाहालले भने,‘मैंले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा धेरै प्राथमिकता नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सुचारु र व्यवस्थित गर्ने विषयमा दिएको छु। जसकारण तातोपानीलगायतका उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको छ।’

प्रधानमन्त्री दाहालले गत असोजमा सम्पन्न चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, त्यहाँका स्थानीय बासिन्दाका समस्या,चीन सरकारकातर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिँदै थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्धन व्यवस्थित गर्नुपर्नेमा आफू सचेत रहेको बताए।

‘उत्तरी क्षेत्रको वस्तुगत आवश्यकताका दृष्टिले ती पर्याप्त छैनन् र आगामी दिनमा थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्धन व्यवस्थित तुल्याउनुपर्छ भन्नेमा म पूर्णतः जानकार र सचेत छु’ दाहालले भने।

उनले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनको संयुक्त प्रयासबाट सीमा क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको उल्लेख गरे। नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल गरेको बताएका उनले यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्ने धारणा राखे।

‘मेरो भ्रमणका क्रममा चीन सरकारसँग नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण, सन् १९८१ को नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर, हिल्सा-सिमिकोट सडक परियोजनाबारे सम्झौता लगायतका दर्जनौं विषयमा सम्झौता भएका छन्, जसले सीमापार व्यापार प्रवर्धनका क्षेत्रमा समेत गुणात्मक अर्थ राख्दछन्,’दाहालले भने।

Logo