प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी, कुन सूचकमा काे अब्बल ?

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी, कुन सूचकमा काे अब्बल ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेका चार बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।

प्रिमियममा आइपिओ जारी गरेका रिलायवल नेपाल, सिटिजन लाइफ, आइएमई र सन नेपाल लाइफले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

यी चारै वटा कम्पनीहरूमध्ये आइएमई लाइफ र रिलायवल नेपालको चुक्ता पूँजी ४/४ अर्ब रुपैयाँ छ । यता, सिटिजन लाइफको भने ३ अर्ब ७५ करोड र सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ छ। यी चारै वटा कम्पनीहरूको चुक्ता पुँजी नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम सीमा भन्दा कम हो ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी ५ अर्ब तोकेको छ । यता, जीवन बीमा कोष भने सिटिजन लाइफको बलियो देखिएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ७ करोड २० लाख २९ हजार रुपैयाँ छ । यस्तै, रिलायवलको ८ अर्ब ५३ करोड ७९ लाख ६० हजार, आइएमईको ७ अर्ब ९९ करोड ८९लाख ८३ हजार र सन नेपालको भने ६ अर्ब ५१ करोड ५४ लाख १८ हजार रुपैयाँ छ ।

दोस्रो त्रैमासमा नाफाको आधारमा भने सन नेपाल लाइफ अगाडी देखिएको छ। ६ महिनामा कम्पनीले ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

दोस्रो सूचीमा रहेको आइएमई लाइफले पनि २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । यता, रिलायवल नेपालले पनि २३ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफामा आइएमई लाइफ र रिलायवल नेपालको प्रतिस्पर्धा जस्तो देखिन्छ । समीक्षा अवधिमा सिटिजन लाइफको खुद नाफा भने १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा बीमा शुल्क आर्जनमा भने सिटिजन लाइफले टपेको छ । ६ महिनामा कम्पनीले २ अर्ब ५७ करोड २१ लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अन्य कम्पनीहरूले पनि १ अर्ब नघाएका छन् । समीक्षा अवधिमा दोस्रो सूचीमा रहेको आइएमई लाइफले १ अर्ब ९९ करोड ५७ लाख ६४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, रिलायवल नेपालले पनि १ अर्ब ७५ करोड २६ लाख १७ हजार, सन नेपालले १ अर्ब ५८ करोड ६४ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

रिटेन्ड अर्निङ्गमा भने रिलायव नेपाल अब्बल देखिएको छ । कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ छ । यस्तै, सन नेपालको पनि १ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ । यता, आइएमई लाइफको ८५ करोड २ लाख र सिटिजनको भने ६८ करोड ९५ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा सन नेपाल लाइफ नै अगाडी देखिएको छ । कम्पनीको इपिएस २० रुपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ शून्य ४ पैसा छ । यस्तै, आइएमई लाइफको इपिएस ११ रुपैयाँ ७४ पैसा र नेटवर्थ १७७ रुपैयाँ २७ पैसा, सिटिजनको इपिएस ६ रुपैयाँ ६० पैसा र नेटवर्थ १८१ रुपैयाँ १३ पैसा र रिलायव नेपालको इपिएस ११ रुपैयाँ ५५ पैसा र नेटवर्थ ७९ रुपैयाँ ७१ पैसा रहेको छ ।

खुद दाबी भुक्तानी पनि सिटिजन लाइफकै धेरै देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ६० करोड ९९ लाख रुपैयाँ देखिएको छ । यस्तै, आइएमई लाइफको १ अर्ब ८७ करोड १ लाख, रिलायवलको १ अर्ब ६३ करोड ७० लाख र सन नेपालको १ अर्ब २९ करोड ६५ लाख रुपैयाँ रहेको छ।

महाविपत्ति कोषको आकार भने आइएमई लाइफको ठुलो देखिएको छ। कम्पनीले यस्तो कोषमा १५ करोड ३५ लाख रुपैयाँ राखेको छ । यस्तै, सिटिजनले १४ करोड ९६ लाख, रिलायवलले १४ करोड ३७ लाख र सन नेपालले १२ करोड ३५ लाख रुपैयाँ राखेको छ ।

Logo