समुदाय र सदस्य केन्द्रित सहकारी बैंक भन्दा राम्रा छन्ः उद्धव सापकाेटा

समुदाय र सदस्य केन्द्रित सहकारी बैंक भन्दा राम्रा छन्ः उद्धव सापकाेटा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकाेटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नुपर्ने बताएका छन्।

बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’मा बोल्दै उनले कोरिया लगायतका कतिपय देशहरुले सहकारीमा समस्या आउँदा सरकारले सहयोग गरेको बताएका हुन्।

संकटको समयमा राज्य र अभियानसँगै जाने हो भने अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाई थियो। समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा पनि राम्रोसँग सञ्चालन भइरेको अध्यक्ष सापकोटाले बताए।

‘सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा सहकारीप्रतिको बुझाईमा एक रुपता नहुँदा पनि समस्या आयो’,उनले भने। विश्वका कतिपय देशले सहकारीमार्फत नै आर्थिक तथा सामाजिक रुपान्तरण गरेको थुप्रै उदाहरण रहेको भन्दै उनले नेपालमा पनि सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सक्ने दावी गरे।

शहरी क्षेत्रमा रहेका केही ठुला र सहकारी मूल्य, मान्यता सिद्धान्त बाहिर सञ्चालित सहकारीमा मात्र अहिले समस्या आएको उनले बताए। बदमास गर्ने सहकारी संस्थाका सञ्चालकलाई संरक्षण गर्ने भन्दा पनि कारबाही गर्न सके सहकारीप्रति आम विश्वास बढ्ने उनको बुझाई छ।

कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले सहकारीको बुझाइमा एक रुपता कायम हुनुपर्छ भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए। सहकारीमाथि चौतर्फी रुपमा आरोप लागेको बताउँदै सहकारीलाई हेर्ने, विश्लेषण गर्ने र सहकारीको अवस्थाको रुपमा सही विश्लेषण नभएको समेत उनले बताए।

सबै सहकारी समस्यामा नरहेको समेत उनको तर्क छ। ‘सबै सहकारी खराब छैनन्। केही सहकारीहरूबाट गलत काम पनि भएका छन्। सबैलाई सबैलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन,’ उनले थपे। सहकारी बुझाईमा एकरुपता आउने पर्ने बताउँदै उनले साझा बुझाईको साथमा सहकारीको विश्लेषण गर्नुपर्ने बताए।

तालिममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारी संस्थाहरुको वित्तीय विश्लेषणको बारेमा प्रशिक्षण दिएका थिए। सहकारीमा पल्र्सको महत्व,नगद प्रवाह, लेखा टिप्पणी र अन्य वित्तीय विश्लेषण लगायतका विषयमा पत्रकारहरुलाई प्रशिक्षण गराएका थिए।

लेखा परिवेक्षकको युडिएन नम्बरबाट सहकारी संस्थाको प्रतिवेदनमा उल्लेख भएको वित्तीय विवरण वास्तविक छ की छैन भनेर पत्ता लगाउन सकिने सिइओ गुरागाईले बताए। तालिममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारीको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिँदै कुल बचतमा ३० प्रतिशत माथी नियमित बचतको हिसा रहेका सहकारी संस्थामा सामान्य अवस्थामा समस्या नआउने बताए। सहकारीको वित्तीय संरचना भित्र वित्तीय स्रोत केलाई बनाइयो? त्यसले नै संस्थाको स्थायित्व कायम गर्ने उनले जानकारी दिए।

दिगो संस्था निमार्ण गर्न नियमित बचत कम्तिमा ३० प्रतिशत, धन सृजना गर्ने बचत कम्तिमा १५ प्रतिशत, आवधिक बचत बढीमा २० प्रतिशत र कारोबार बचत ३५ प्रतिशत हुनुपर्ने सिईओ दाहालले जानकारी दिए।

सहकारी संस्था सदस्यमा आधारित व्यवसाय भएकाले कुल सदस्य मध्ये ३३ प्रतिशतले संस्थाबाट ऋण उपभोग गरेको हुनुपर्ने उनले बताए। बैंकसम्मको पहुँच नभएका र आफ्नो कमाईले मात्र दैनिकी सञ्चालन गर्न नसक्नेहरुका लागि सहकारी आवश्यक रहेको उनको भनाई छ। सिजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा विभिन्न सञ्चार गृहमा कार्यरत ३४ जना पत्रकारहरुको उपस्थिति थियो।

Logo