फिल्मी शैलीमा कनेक्ट आईपीएस ह्याक गरेर १० लाख रूपैयाँ चाेरी, भएको के हो ?

फिल्मी शैलीमा कनेक्ट आईपीएस ह्याक गरेर १० लाख रूपैयाँ चाेरी, भएको के हो ?

केन्द्रबिन्दु
238
Shares

कनेक्ट आईपीएस ह्याक गरेर सुनसरीका शिवनन्दन मेहता र आमा रुशनी देवी मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको पाइएको छ । नाटकीय रुपमा भएको यो घटनाका पीडित शिवनन्दनका अनुसार आफ्नो सानिमा बैंकमा रहेको खाताबाट कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटक-पटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेका हुन् ।

कुरा हो, गत माघ ९ गते बिहान १०ः१५ बजेको । इनरूवा नगरपालिका २ का वडा नं. २ का शिव नन्दन मेहताको मोबाइल नम्बरमा एउटा म्यासेज आउँछ, कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको । त्यसलगत्तै म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज पनि आयो । त्यसको केही मिनेटभित्रै सानिमा बैंकको इनरुवा शाखा कार्यालयमा पुगे । अनि थाहा पाए, रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको रहेछ । कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे । तर, बैंकले कुनै वास्ता नगरेको पीडित शिवनन्दनको गुनासो छ ।

सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमै जान भन्दै आफ्नो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो । यसपछि एनआइसी एसिया बैंक पनि पुगे । एनआइसी एसिया बैंकले पनि उनको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो ।

पीडित मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरेर रकम होल्ड गरिदिन पनि आग्रह गरे । तर, कनेक्ट आईपीएसले ‘रकम बिहान १० बजेर ३० मिनेट मै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो ।

यता एनआईसी एशिया बैंकमा सिसिटिभी फुटेज पनि हेरियो । एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति बैंकको काउन्टरमा प्रवेश गरेको देखिन्छन् । उनले बैंकको टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् । बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् खुलेको छैन ।

कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी भएको थाहा पाएलगत्तै बैंकमा पुगेर रकम रोक्का गर्न आग्रह गर्दागर्दै पनि बैंकले नसुन्दा रकम चोरी भएको पीडित मेहताको गुनासो छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर १० भनेर उक्त व्यक्तिले आफ्नो खाता विवरण भरेको भएपनि उक्त गाउँपालिकामा जम्मा ८ वडा मात्र रहेको छ । बैंकले व्यक्तिगत खाता विवरण भर्दा हेलचेक्र्याई गरेको यसबाट पुष्टि हुन्छ । यस घटनामा उनले प्रहरीमा पनि जाहेरी दिएका छन् । तर जाहेरी दिएको ३ दिन हुँदा पनि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन् । यसबारे पीडीतले राष्ट्र बैंकमा समेत जानकारी गराइसकेका छन् ।

यता सानिमा बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताएको छ ।

सोही दिन उनकी आमा रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । दिउँसो १३ः१५ बजेदेखि १३ः३६ बजेको समयमा सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको हो । उक्त रकम भने सिद्धार्थ बैंक कपन शाखामा रहेको खाता वाहक अफसोर सफ्ट टेक प्रालिको खातामा रकम ट्रान्सफर गरिएको छ ।

Logo