बलिउड कलाकारले बनाएको एटीएस नेपाल एप्स काठमाडौँ महानगरको टप १५ सूचीमा

बलिउड कलाकारले बनाएको एटीएस नेपाल एप्स काठमाडौँ महानगरको टप १५ सूचीमा

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। एटीएस नेपाल हालै मात्र नेपाली बजारमा उपलब्ध गराइएको विभिन्न सुविधा सहितको एप हो। यसको प्रयोगबाट कुनै सवारी साधन हराएको वा बेवारिस भएको अवस्थामा सम्बन्धित सवारी धनी पत्ता लगाउन सकिन्छ ।

एटीएस नेपाल गाडी र बाइक सम्बन्धी क्युआर बेस्ड एप्लिकेसन हो । कुनै व्यक्तिले कतै पार्किङमा गाडी राखेर गयो, तर सो गाडी त्यहाँबाट हटाउनु पर्ने वा कुनै कारणले गाडी धनी खोज्नु पर्यो भने समस्या हुन्छ ।

यदि सो व्यक्तिले आफ्नो नम्बर कतै छोडेर गयो भने त आफ्नो ‘प्राइभेसी’ नहुने भयो । यो अवस्थामा यदि त्यहाँ एटीएस नेपालको क्युआर कोड छ भने कुनै पनि व्यक्तिले आफ्नो मोबाइलमार्फत स्क्यान गरेर सो व्यक्तिसँग कुरा गर्न सकिन्छ । यो अवस्थामा दुवै जनाले एक अर्काको नम्बर देख्दैनन्। फोन आदानप्रदान मात्र हुन्छ । तर नम्बर नदेखिने भएकाले प्राइभेसी हुन्छ ।

उक्त एप डाउनलोड गरी आफ्नो मोबाइलमा राख्ने र एटीएस नेपालले उपलब्ध गराएको क्युआर कोड सवारी साधनको कुनै स्थानमा राख्ने गरेमा सो क्युआर कोड स्क्यान गरी जसले पनि सवारी धनी पत्ता लगाउन र खबर गर्न सकिन्छ।

क्युआर कोड स्क्यान गर्दा आउने फोन नम्बरमा फोन गरेर यो कार्य गर्न सकिन्छ । विशेष गरी दुर्घटना भएको अवस्थामा वा कुनै कारणले चोरी भएको अवस्थामा यो एप निकै नै प्रभावकारी हुन्छ ।

भृकुटी मण्डपमा आयोजित क्यान इन्फोटेकमा एटीएस नेपालको स्टलमा सो एप्सको वारेमा जानकारी लिन चाहने अवलोकनकर्ता धेरै थिए । काठमाडौं महानगरपालिकाले समेत उत्कृष्ट स्टाटअपको रुपमा पुरस्कृत गरेको र ती स्टार्टअपको छुट्टै स्टल राखेको थियो । एटीएस नेपाल त्यही समूहमा रहेको थियो। ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन २०८० अर्थात केएमआईआई २०८० का टप १५ मा एटीएस नेपाल समेत छनोट भएको थियो ।

तीन वर्ष नकटेको कुनै स्टार्टअपलाई आफ्नो उद्यमशीलता वा व्यवसाय सम्बन्धी कुनै आइडिया भए गत जेठ १९ गते सम्म सो आइडिया पेश गर्न भनिएको थियो । ८ सय जनाले आवेदन दिएकोमा टप १५ मा पर्न एटीएस नेपाल सफल भएको थियो ।

भारत त डिजिटल क्षेत्रमा धेरै अगाडि बढिसकेको छ । तर नेपाल विस्तारै यसतर्फ अगाडि बढ्दैछ। एटीएस नेपालको एप्लिकेसनमा आफ्नो सवारी साधनको लाइसेन्स, बिलबुक तथा सवारीको फोटो समेत यही एप्समा राख्न सकिन्छ । यसो हुँदा लाइसेन्स र बिलबुक रिन्यु गर्ने समय भन्दा एक साता पहिले नै म्यासेज जान्छ । यसबाट समयमै लाइसेन्स र बिलबुक रिन्यु गर्न सकिन्छ ।

केही दिनमै काठमाडौं उपत्यकामा ब्रेक डाउन सर्भिस समेत शुरु गर्न लागिएको एटीएस नेपालका एक्जिक्युटिभ डाइरेक्टर विजय कँडेलले बताए। कुनै स्थानमा सवारी साधन बिग्रियो भने त्यही स्थानमा मेकानिक्स उपलब्ध गराउने र सवारी साधन मर्मत गर्ने सुविधा उपलब्ध गराउने उनको भनाइ छ ।

एटीएस नेपालको आइडियालाई व्यवहारमा उतार्ने कार्यमा विजय कँडेलको महत्वपूर्ण भूमिका छ । राजन पाठक उनका सहकर्मी छन् । उनले भारतको दिल्लीमा अध्ययन गरेका हुन् । शैक्षिक योग्यताका आधारमा उनी होटल म्यानेजमेन्ट क्षेत्रका हुन् भने बलिउड कलाकार समेत हुन् । उनले विभिन्न फिल्ममा समेत अभिनय गरेका छन्। तर उनका साथीहरु आइटी क्षेत्रका भएका र यो क्षेत्रमा आउनका लागि एक घटनाले घच्घच्याएको उनको भनाइ छ ।

Logo