शालीनदी मेलामा २२ लाख भक्तजन पुगे, एक करोड बढी आर्थिक सहयोग संकलन

शालीनदी मेलामा २२ लाख भक्तजन पुगे, एक करोड बढी आर्थिक सहयोग संकलन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ ।

स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।

शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो । मेला शनिबार(आज)साँझ विशेष समारोहबिच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।

एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढङ्गले सम्पन्न गर्न सफल भएको पनि उनको भनाइ छ ।

मेलामा आउने दर्शनार्थीहरु पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाडा र असहज परिस्थिति सिर्जना नभएको उनले बताए । माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपुर्ण ढङ्गले मेला समापन गर्ने तयारी रहेको पनि उनको भनाई छ ।

माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा बर्षेनी दर्शनार्थीहरुको घुइँचो लाग्नेगर्छ । भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए । उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेको पनि उनले जानकारी दिए । यद्यपी, अघिल्ला वर्षहरुको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको सङख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाई छ ।

शालीनदी काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।

Logo