नेपालमा एसवाईको हाँगा फैलिँदै छ, आईपीओपछि यूपीभीसी फ्याक्ट्री सञ्चालनमा आउँछः प्रबन्ध निर्देशक शशी साह

नेपालमा एसवाईको हाँगा फैलिँदै छ, आईपीओपछि यूपीभीसी फ्याक्ट्री सञ्चालनमा आउँछः प्रबन्ध निर्देशक शशी साह

केन्द्रबिन्दु
1k
Shares

नेपालमा सन् २०१७ देखि कोरियन प्रविधिको प्रयोग गरी एसवाई प्यानल कम्पनीले प्यानलका प्रडक्टहरू उत्पादन गर्दै आएको छ । पछिल्लो समय आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ कम्पनीको स्थापनामा पनि एसवाई लागेको छ । डिलरमार्फत प्यानलको प्रयोग गरी सुन्दरका साथै आकर्षक घर बनाउँदै आएको एसवाई प्यानलले छिटै आईपीओ पनि ल्याउँदै छ । कम्पनीले तयार गरेको प्यानल प्रयोग गरेर नेपालमा घर बनाउनेको संख्या पनि बढ्दो छ । छोटो समयमा नै लोकप्रिय कम्पनीको रूपमा स्थापित भएको यो कम्पनीका आगामी योजना के छन्, प्यानलको प्रयोग गरेर घर किन बनाउने, फाइदा के छन्, आईपीओ सर्वसाधारणको लागि कहिले आउँदै छ लगायतका विषयमा एसवाई प्यानलका प्रबन्ध निर्देशक शशी साहसँग केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंहरूले नेपाली बजारमा एसवाई प्यानलका प्रडक्ट बेच्न थाल्नु भएको लामोसमय भइसकेको छ, यो अवधिसम्म नेपालमा एसवाईका घर कति बने ?

-नेपालमा एसवाई प्यानलका ५० वटा भन्दा बढी डिलर छन् । पहिला काम गरेका तर, पछिल्लोसमय केही सुस्ताएका २/४ वटा डिलर पनि छन् । एसवाईका नेपालमा यति नै घर बने भनेर आंकलन गर्न भने गाह्रो छ । किनभने, हाम्रो कम्पनी निर्माण सामग्री उत्पादन गर्छ । उक्त सामग्री डिलरहरूले प्रयोग गरेर घर बनाउने गर्छन् । हाम्रो कम्पनीको वार्षिक कारोबार ५० करोड भन्दा बढी छ । मलाई लाग्छ, नेपालमा एसवाई प्यानलका १/२ हजार भन्दा बढी घर बनिसकेका छन् । प्यानलको प्रयोग गरेर तला थप्ने काम चाहिँ व्यापक भएको छ । अहिलेसम्म करिब हजार भन्दा बढी घरमा तला थप्ने काम भएको छ । यो प्यानल प्रयोग गरे घर छिटो निर्माण साथै कम लागतमा तयार गर्न सकिने भएकाले आम नागरिकहरूबीच यसको माग बढ्दै गएको छ । प्यानलको प्रयोग गरेर बनाइएका घर जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोक्ने जस्ता विशेषताले पनि मान्छेलाई प्रभाव पारेको देखिन्छ ।

अहिलेको समयमा छिटो भनेकै एसवाई हो ।

एसवाई प्यानलका उत्पादन घर बनाउनका लागि मात्र प्रयोग भएका छन् कि आयोजनाको काममा पनि प्रयोग भएका छन् ?

-हाम्रो कम्पनी आफैले घर बनाउने काम गर्दैन । हामी निर्माण सामग्रीको उत्पादन गर्ने कम्पनी भएकाले सामान बनाई बिक्री गर्छौं । हाम्रो सामग्रीको जहाँ आवश्यकता पर्छ त्यहाँ हाम्रो उत्पादन पठाउने हो । नगरपालिकाले बनाउने सभा हल, सरकारी भवन लगायतका संरचना पनि प्यानल प्रयोग भएर तयार भएका छन् । वि.सं.२०७२ सालको भूकम्प लगत्तै बारा र पर्सा जिल्लामा हावाहुरीले धेरै संरचनाहरूमा क्षति पुर्याएको थियो । क्षति पुर्याएको उक्त ठाउँमा एकीकृत बस्ती जस्तै ८०० वटा घरहरू बनेको थिए । ती सबै घरको झ्याल तथा ढोकामा हाम्रो प्यानलको प्रयोग भएको छ । नेपाल रेडक्रस सोसाइटीले सिन्धुपाल्चोकमा बनाएको घरमा पनि हाम्रो प्यानलको प्रयोग गरिएको छ । हाइड्रोपावर क्याम्प पनि व्यापक रूपमा प्यानलको प्रयोग गरी बनाइएको छ । किनभने, त्यहाँ यातायातको पहुँच नपुगेको र संरचना भने छिटो चाहिएको हुन्छ । अहिलेको समयमा छिटो भनेकै एसवाई हो ।

देशमा आर्थिक मन्दी छ । निर्माणको काम पनि सुस्ताएकाे देखिन्छ, यस्तो अवस्थामा एसवाई प्यानलबाट बन्ने घरको माग बजारमा कस्तो छ ?

-हाम्रो प्यानल प्रयोग गरेर घर बनाउन धेरै आतुर छन् । फ्याक्ट्रीबाट अहिलेको अवस्थामा पूर्ण क्षमताको ७० प्रतिशत मात्र उत्पादन भइरहेको छ । हामीलाई आर्थिक मन्दीले पनि सहयोग गरेको छ । मन्दीको अवस्थामा आमजनताले ठूलो रकम खर्च गरेर ठूलो घर बनाउन सक्ने अवस्था छैन । त्यसैले सस्तो, सानो र सुन्दर घर बनाउन चाहनेहरु एसवाई प्यानलसँग जोडिन आइपुग्नु हुन्छ । तर, प्यानलको घर धेरै सस्तो नभए पनि आरसिसी घरको तुलनामा सस्तो छ । ४ आनाको जग्गामा कंक्रीटको घर बनाउनु पर्यो भने पूर्ण रूपमा सम्पन्न गर्दा सवा करोड रुपैयाँ खर्च हुन्छ । सोही जग्गामा प्यानलको घर बनाउँदा करिब ९० करोड रुपैयाँमा घर सम्पन्न हुन्छ । पछिल्लोसमय प्यानलको प्रयोग गरेर घर बनाउनेको संख्या पनि बढ्दो छ ।

जो लामो समय विदेश बसेर नेपाल फर्किएका छन्, उनीहरूले प्यानलको घर एकदमै मन पराउँछन् । किनभने, उनीहरू प्यानलबाटै बनेको घरमा बसेर आएका हुन्छन् ।

प्रिफाइभका घर बनाउँदा गुणस्तर कम हुने, आरसिसी जस्तो मजबुद नहुने भन्दै धेरै मान्छेहरू ब्याक भएको पाइन्छ, उहाँहरूको लागि तपाईंको सन्देश के छ ?

-पहिला गुणस्तरको मापदण्ड के हो भन्ने विषय बुझ्नु आवश्यक छ । हामीलाई सुरक्षित घर चाहिएको हो या बलियो घर चाहिएको हो ? आरसिसी घर २/४ घन हान्दा पनि नकुच्चिएला, प्यानलको कुच्चिएला । ५० वर्ष अगाडि तराईमा मेरो आफ्नै घर टाटीको थियो । त्यो घरमा पनि सुरक्षित नै अनुभूति हुन्थ्यो । त्यसपछि कंक्रीटको घर बनाउने चलन आयो । समयअनुसार घर बनाउने तरिकामा परिवर्तन आइरहेको हुन्छ । प्रिफाइभका घर गुणस्तर नहुने, राम्रो नहुने भन्ने बिल्कुलै गलत विषय हो । गुणस्तर विभागले पनि यस्ता घरहरूका लागि चुस्तदुरुस्त रूपमा अनुगमन गर्दै अघि बढ्यो भने आगामी दिनमा नेपालमा गुणस्तर घरहरू पक्कै बन्नेछन् ।

तपाईंसँग प्यानलमा काम गरेको लामो अनुभव छ, तपाईं पेशाले पनि इन्जिनियर, प्यानलको घरप्रति सर्वसाधारणको बुझाइ कस्तो पाउनु भएको छ ?

-प्यानलका घरप्रति व्यक्तिपिच्छेको बुझाइ फरक देखिएको छ र बजेटले पनि यसमा फरक पारेको छ । जो लामो समय विदेश बसेर नेपाल फर्किएका छन्, उनीहरूले प्यानलको घर एकदमै मन पराउँछन् । किनभने, उनीहरू प्यानलबाटै बनेको घरमा बसेर आएका हुन्छन् । विदेशीहरूले छोराछोरीको लागि भनेर घर बनाएका हुँदैन । त्यहाँ आफ्नो लागि आफै घर बनाउँछन् । तर, नेपालीलाई घर भनेको जुगौं जुगको लागि बनाउने भन्ने बुझाइ छ । हामीले सयौँ वर्ष टिक्ने घर बनाउँदैनौं । कम्फर्ट, भूकम्प प्रतिरोधी आदि जस्ता विशेषता भएका घर बनाउँछौं । हाम्रो प्यानलले मात्र घर बन्ने हैन ।

प्यानलको घर बनाउँदा भुईँका साथै तला थप्नुपर्यो भने ढलान गर्नु नै पर्ने हुन्छ । दुई तलाको घर बनाउन २० प्रतिशत प्यानलको प्रयोग हुन्छ । बाँकी ८० प्रतिशत रकम संरचना र फ्रेम बनाउन खर्च हुन्छ । प्यानलको गुणस्तर अनुसार घरको आयुमा फरक परेको हुन्छ । कुनै २० कुनै ५० वर्ष टिक्ने प्यानल पनि हुन्छ । सोही अनुसार हामीले मार्केटिङ गरिरहेका हुन्छौं । यस प्रति बुझ्नेले प्यानलकै घर बनाउँछन् र नबुझ्नेले आरसिसी भवन बनाउँछन् ।

तपाईंले प्रिफाइभका घर विदेश बसेर नेपाल फर्केकाले मात्र रुचाउँछन् भन्नु भयो । तर, प्यानलका घर पनि उपयुक्त छन्, गुणस्तरमा आरसिसी भन्दा कम छैन भनेर आम नागरिकलाई किन विश्वास दिलाउन सक्नु भएन ?

-सुरूवाती चरणमा हाम्रो मार्केटिङ सम्भवतः त्यो अनुसारको भएको थिएन । हामीले प्यानलको घरप्रति विश्वास दिलाउन नसकेको हैन । हामीले हाम्रो मानसिकता चाहिँ परिवर्तन गर्न नसकेको हो । हामी प्यानलप्रतिको सोचलाई परिवर्तन गर्नमा लागेका छौं । यो ७ वर्षको अन्तरालमा धेरैले प्यानललाई बुझी सक्नुभएको छ । कंक्रीट र प्यानल दुवैको आ–आफ्नो विशेषता छ । प्यानल प्रयोग गरेर घर बनाउँदा भूकम्पदेखि डराउनु पर्दैन । तापक्रमलाई कायममा राख्ने हुन्छ । घर खोलेर अर्को ठाउँमा सर्दा पैसा फिर्ता आउने र मेटल तथा प्यानललाई पुन प्रयोग गर्न पनि सकिन्छ । यी सबै विषयमा चित्त बुझाउनेले प्यानलको घर बनाउनुहुन्छ ।

यही उत्पादन भएको निर्माण सामग्री प्रयोग गरेर घर बनाउँदा पनि खर्च बढी आयो भन्ने गुनासो सुनिन्छ, सरकारी निकायबाट के पहल भइदियो भने प्यानलका घर अझ सस्तो हुन्थ्यो ?

-सरकारी भवनमा प्रयोग हुने आवश्यक नम्स अहिलेसम्म तयार भएको छैन । त्यो नम्स बनाइदियो भने काम गर्न थप सहज हुन्छ । एउटा संरचना बनाउनको लागि यति मान्छे लाग्छ, यति खर्च लाग्छ भन्ने लगायतका मापदण्ड हो नम्स । कतिपय नगरपालिकाका इन्जिनियरहरूले यसको बारेमा मेसो पनि पाउँदैनन् । नेपाल गुणस्तर तथा नापतौल विभागलाई आवश्यक क्षमता अभिवृद्धि गराइ प्रिफाइभको गुणस्तर निर्धारण गर्ने नम्स बनाउन जरूरी देखिन्छ । यसको आवश्यक मापदण्ड, नीति नियम बन्यो भने ती नियममा टेकेर काम गर्न सहज हुन्थ्यो । साथै, कम लागतमा हामीले पनि सामग्रीको उत्पादन गर्न सक्यौं भने उपभोक्ताले पनि कम लागतमै आकर्षक घर बनाउन सक्नुहुन्थ्यो ।

स्वदेशमा नै प्यानल उत्पादन भएता पनि यसको मूल्य महँगो किन हुँदै गइरहेको छ ?

-विदेशमा सम्भवतः नेपालको तुलनामा कम खर्चमा प्यानलका घर बन्छ । सरकारले दिगो र सहज तरिकाको नीति तथा नियम बनाइदियो भने कम लागतमा उत्पादन गरी सस्तोमा सामान बिक्री गर्न सकिन्छ । प्यानल बनाउनको लागि चाहिने कच्चा पदार्थ आयातका साथै निर्माण सामग्रीको आयात गर्दा लाग्ने कर बढी छ । हामी पफ प्यानलको पनि उत्पादन गर्छौं । त्यो कोल्ड स्टोरजस्ता संरचना बनाउन प्रयोग हुने सामग्री हो, जुन आज हामीले नेपालमा नै उत्पादन गर्दै आएका छौं । त्यो सामग्रीका लागि चाहिने कच्चा पदार्थको आयात कर छुट पाउन सक्यौं भने त्यसको लाभ सबैले लिन सकिन्छ ।

प्यानल प्रयोग गरेर बनाइएका घरहरु धितोमा राखेर बैंकबाट कर्जा लिन पाइन्छ कि पाइँदैन ?

-बैंकले प्रिफाइभका घरको लागि पनि कर्जा दिन्छ । तर, आरसिसी घरको तुलनामा चाहिँ कम कर्जा पाइन्छ । मलाइ लाग्छ ५० प्रतिशत कर्जा कम हुन्छ । हाम्रा सामग्रीको प्रयोग भएर हाइड्रोपावरका क्याम्पहरू पनि तयार भइरहेका छन् । पक्कै पनि ती संरचना बैंकले लगानी गरेर नै तयार भएका हुन् ।

एसवाई प्यानलले आफ्नो प्रडक्ट बाहिर अर्थात् विदेश निर्यात गर्ने ढोका खोलीसकेको छ, तर, तपाईंहरूले निर्यातलाई निरन्तरता दिन सक्नु भएन । किन ?

-हामीले प्यानल भारत निर्यात गर्न सुरु गरेका थियौं । त्यहाँबाट अहिले धेरै इनक्वायरी आइरहेको छ । विदेशबाट सामान आयात गरेर घर बनाउने लेबलसम्म मान्छेको पहुँच पुगेको छैन । हाम्रो सामग्री भुटानमा पनि निर्यात गर्ने तयारी भइरहेको छ । भुटानबाट प्राविधिकहरू नेपाल आएर तालिम पनि लिइसकेका छन् । सबै प्रक्रिया पूरा भएपछि भुटानमा पनि एसवाईका प्रडक्ट निर्यात हुनेछ ।

भारतको सिक्किम तथा दार्जीलिङमा एसवाईका प्यानल प्रयोग गरेर घर बनाउन धेरै जना आतुर हुनुहुन्छ । त्यहाँका नागरिक पनि यसप्रति सकारात्मक भएको पाएका छौं । एउटा सानो ७ सय स्क्वायर फीटको घर भारत तथा भुटानमा बनाउनु पर्यो भने यहाँबाट १० लाख रुपैयाँको सामान पठाइएला । तर, त्यहाँ पुर्याउँदा लाग्ने यातायात खर्चले सामानको मूल्य दोब्बर हुन जान्छ । त्यसैले भारत वा विदेशमा पनि एसवाईको डिलर भयो भने त्यहाँका व्यवसायीले यहाँको सामान लगेर काम गर्न सक्छन् । उनीहरू मार्फत सामग्री निर्यात भयो भने उपभोक्ताले पनि सस्तोमा घर बनाउन सक्छन् र यस विषयमा हामी लागि रहेका छौं ।

तपाईंहरूले किस्तामा पैसा बुझाउने सर्तमा घर बनाउने प्यानल दिन सक्नुहुन्छ कि हुँदैन ?

-एउटा निर्माण कम्पनीलाई त्यो सम्भव हुँदैन । नेपालको मार्केट त्यति राम्रो छैन । छोटो समयको लागि सामान लगेर इमान्दारीपूर्वक त्यसलाई फिर्ता गर्ने संस्कार यहाँ पाइँदैन । फेरि सबैलाई एउटै बक्सामा राखेर दाँज्न खोजेको चाहिँ हैन । तर, कुनै धितो वा ग्यारेन्टी दिएर निश्चित अवधिको लागि दिन सकिन्छ । वर्षौसम्मको लागि भने सम्भव छैन । किनभने, उधारोमा कारोबार गर्ने हो भने त्यो कम्पनी नै चलाउन सम्भव हुँदैन । एउटा निर्माण सामग्री उत्पादन गर्ने कम्पनीको लागि क्यास रोटेशन एकदमै महत्वपूर्ण हुन्छ । घरको लागि ऋण वा किस्ता लिनु पार्यो भने बैंकबाट नै कारोबार गर्दा राम्रो हुन्छ ।

सस्तोमा घर बनाउने कम्पनीका रूपमा पनि एसवाई प्यानललाई चिनिन्छ । वास्तवमा एसवाईको घर बनाउँदा खर्च चाहिँ कति लाग्छ ?

-जाजरकोटमा केही समयअघि भूकम्प गएको विषय यहाँहरूलाई थाहै होला । त्यहाँको लागि हामीले घरका २/३ वटा मोडल पनि बनाएका छौं । उक्त मोडलको प्रयोग गरी एउटा घर बनाइसकेका पनि छौं । त्यहाँ हामीले १० लाख रुपैयाँ २ वटा कोठा, एउटा किचेन भएको घर बनाएका हौं । प्यानलको मात्र प्रयोग गरेर घर बनाउन सकिँदैन । सस्तो र इन्सुलेटेड गरी घर दुई किसिमको हुन्छ र इन्सुलेटेड महँगो प्रविधि हो ।

प्यानलको घर इन्सुलेटेडका लागि नै प्रख्यात भएको पाइन्छ । पूर्ण रूपमा इन्सुलेटेड भएको घर बनाउँदा महँगो पर्छ । सस्तो घर बनाउने तरिका पनि छन् । वालमा एसवाईको प्यानल प्रयोग गरी रुफिङमा जस्ता पाता लगाई झ्यालमा कम रेटको सामान प्रयोग गरेर सस्तोमा घर बनाउन सकिन्छ । ३ स्क्वायर फीटको घर १० लाख, टु बीएचकेका लागि १८/२० लाख र थ्री बीएचके बनाउँदा २५/३० लाख रुपैयाँ खर्च हुन्छ ।

एसवाई प्यानलले सेयर निष्कासन गर्ने भनेको लामो समय भइसकेको छ, तर सर्वसाधारणको लागि भने खुल्ला हुन सकेको छैन, आईपीओ आउन अझै कति समय लाग्ला ?

-एसवाई प्यानलको आईपीओ आउने प्रक्रिया जारी छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए छिट्टै एसवाईको आईपीओ सर्वसाधारणको लागि खुल्ला हुनेछ ।

नेपाल भूकम्पले पनि जोखिमयुक्त रहेको देश हो । जुन समस्या हामीले भोगी रहेका छौं । नेपालीले हल्का घर नै बनाउनुपर्छ ।

कम्पनीको वित्तीय अवस्था कस्तो छ ?

-गत वर्षमा करिब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वित्तीय अवस्थाको वृद्धि सन्तोषजनक छ । पहिला ४० करोड रुपैयाँ थियो भने अहिले ६० करोड रुपैयाँ छ । यो ग्राफलाई घट्न नदिई काम गरिरहेका छौं । यो वर्ष एक अर्ब बढीको कारोबार होला भन्ने अपेक्षा लिएका छौं ।

एसवाई प्यानलबाट घर बनाउन चाहनेहरूलाई तपाईं के सल्लाह दिनुहुन्छ ?

-नेपाल भूकम्पले पनि जोखिमयुक्त रहेको देश हो । जुन समस्या हामीले भोगी रहेका छौं । नेपालीले हल्का घर नै बनाउनुपर्छ । परिवार बस्न उपयुक्त साथै भूकम्प प्रतिरोधी घर आजको आवश्यकता हो । जुन विषय जस्तोसुकै घर बनाउँदा पनि ध्यान पुर्याउनुपर्छ ।

एसवाई प्यानलबाट बनाएका घरलाई दिगो रूपमा टिकाउन कस्ता विषयमा सबैभन्दा बढी ध्यान पुर्याउनु पर्ला ?

-पहिलो विषय घरको टिकाउ कति वर्षलाई मान्ने ? म जस्तो व्यक्ती, १० वर्ष जागिर खाएर ४० वर्षको उमेरमा घर बनाउँदा फेरी त्यो घर अर्को ४० वर्ष टिके पुग्दैन र ? एउटै घर सय वर्ष टिक्नुपर्छ भन्ने छैन । विदेशमा घरको ५० वर्षसम्म डेकुरेसन गर्नुपर्ने हुन्छ । आरसिसी घरसँग प्यानलको घर दाँज्ने मान्छेले प्यानल प्रयोग गरेर घर बनाउनुहुन्न ।

एसवाईका नेपालमा हाँगा फैलिने क्रममा जारी छ । विदेशी लगानीमा सञ्चालन हुने यी कम्पनीबाट धेरैले रोजगारी पनि पाउनेछन् ।

नेपालमा हाम्रा जति डिलर छन् ती सबै तालिम प्राप्त छन् । त्यो तालिम प्राप्त व्यक्तिले गुणस्तर घर बनाउँछ । ग्राहकहरूलाई पनि आधिकारिक डिलरसँग मात्र काम गर्नको लागि आग्रह गर्छु । किनभने, तपाईंले आधिकारिक डिलरसँग कारोबार गर्नुभयो भने कम्पनी र डिलर दुवै जिम्मेवार हुन्छ । मार्केटमा एसवाई प्यानलका डिलर हुँ भन्ने अनि फिनिसिङ समेत नगरिदिने पाइएको छ । त्यसको नियन्त्रणमा पनि हामी लागिरहेका छौं । कम्पनीले बिक्री पछिको सेवालाई पनि उतिकै ध्यान पुर्याएको छ । केही समस्या आयो भने उक्त टिमका साथीहरूले तत्काल समाधान गर्नतर्फ लाग्नु हुन्छ । हामीले प्यानलको प्रयोग गरेर घर बनाइसकेपछि २ वर्षको मेन्टिनेन्स वारेन्टी दिएका छौं । कम्पनी आफैले भने त्यो सेवा दिएको छैन । डिलरमार्फत उक्त सेवा दिने काम भइरहेको छ । हामी यो सेवा दिने योजनामा छौं । हामी कति वर्षसम्म प्यानलमा समस्या आयो भने परिवर्तन गर्न भन्ने किसिमको वारेन्टी दिन्छौं । जुन विषयमा हामी छलफल गरिरहेका छौं ।

आगामी दिनमा एसवाई प्यानल नेपालमा कसरी अगाडि बढ्ला ? यसका भावी योजनाहरू के–के छन् ?

-हामी नेपालमा एसवाईको सञ्जाल विस्तार गर्न लागिपरेका छौं । हाम्रो कम्पनीबाट सेयर निष्कासन भएपछि पब्लिक कम्पनीको रूपमा स्थापित हुन्छ । यसै अन्तर्गत एसवाई बजार कम्पनी पनि सञ्चालित छ । आईपीओ लगतै २६ करोड रुपैयाँ लगानी गरेर यूपीभीसी फ्याक्ट्री सञ्चालनमा ल्याउने तयारी गरेका छौं । एसवाई इन्टरटेन्मेन्ट कम्पनी पनि खोल्ने योजना बनाएका छौं । एसवाई स्मार्ट फार्म सञ्चालन भइरहेको छ । एसवाईका नेपालमा हाँगा फैलिने क्रममा जारी छ । विदेशी लगानीमा सञ्चालन हुने यी कम्पनीबाट धेरैले रोजगारी पनि पाउनेछन् ।

Logo