औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

केन्द्रबिन्दु
56
Shares

विराटनगर। पूर्वको औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल गरिएको छ।

उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघ कार्यसमितिका पदाधिकारीसँग छलफल गरी औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताका लागि पहल गरेको हो।

छलफलका क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढ्दै यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने धारणा राखे।

उनले वर्तमान समयमा उद्योग–व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउँदै समस्या समाधानका लागि संस्थागत एकवद्धतता लागि आग्रह गरे। अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्वन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यावसायिक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि निजी क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड अध्यक्ष शारडाले दिए।

यसैगरी, विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको बताए।

उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यावसायिक क्षेत्र बीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए। संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सबलीकरणका लागि सामूहिक रुपमा पहल गरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने बताए।

कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता थियो।

Logo