फास्ट ट्रयाकमा बन्दैछन् धरहराभन्दा अग्ला पुल, ८ रेक्टरको भूकम्पले पनि नहल्लाउने

फास्ट ट्रयाकमा बन्दैछन् धरहराभन्दा अग्ला पुल, ८ रेक्टरको भूकम्पले पनि नहल्लाउने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यले तीव्रता पाउन थालेको छ । नेपाली सेनाको नेतृत्वमा निर्माणधीन द्रुतमार्गको कार्य केहीसमय अघिसम्म तीव्रता पाउन नसकेको भन्दै आलोचना भएपनि पछिल्लोसमय भने काम द्रुत गतिमा भइरहेको हो । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७ किमी फास्ट ट्रयाकमा निर्माण भइरहेको पुल निर्माणको कार्य पनि द्रुत गतिमा अघि बढेको छ । फास्ट ट्रयाकको एक आकर्षण पुल पनि हो । फास्ट ट्रयाकमा ८९ पुलहरु हुनेछन् । जसको कुल लम्बाई १२.८८५ किलोमिटर छ ।

जसमा दुई पुल महत्वपूर्ण छन्, पहिलो पुल हो मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ स्थित जितपुर खोलामा बन्ने आइकोनिक पुल । यो पुल सबैभन्दा अग्लो हुनेछ । द्रुतमार्गका पुल हेर्ने कोरियाली इन्जिनियर दोहोन किमका अनुसार पुल धरहरा भन्दा अग्लो हुनेछ । यहाँ पुलका लागि जमिनको सतहबाट ४ वटा पिलर उठाउने काम भइरहेको छ । यी चार पिलरमध्ये एउटा पिलरको उचाइ ८१ मिटर अग्लो हुनेछ, जुन धरहराको उचाइ भन्दा ८ मिटर बढी हो । अन्य ३ वटा पिलरहरूको उचाइ ७१ मिटर रहने छ ।

यो पुलले आठ रेक्टरको भूकम्प थाम्छ, पुल जमिनको सतहबाट निकै उचाइमा रहनेछ ।

निर्माण भइरहेका पुलका ती पिलरहरू भूकम्प प्रतिरोधी रहेको बताउँदै आयोजनाका पुल सेक्सनका प्रमुख कोरियाली इन्जिनियर किमले जानकारी दिए । उनले भने, ‘यो पुलले आठ रेक्टरको भूकम्प थाम्छ, पुल जमिनको सतहबाट निकै उचाइमा रहनेछ ।’

यस्तै, प्याकेज २ अन्तर्गत बकैया गाउँपालिकाको चालिसे खोलामा पनि पुल निर्माणको काम धमाधम भइरहेको छ । यी दुई पुलले महादेवटार र धेद्रे सुरुङमार्ग जोड्नेछन् । यता सुरुङमार्ग निर्माणको काम पनि भइरहेको छ । धेद्रे सुरुङ्गमार्गको लम्बाई ७२ प्रतिशत, पुलको लम्बाई १२ प्रतिशत रहेको छ भने सडकको लम्बाई १६ प्रतिशत रहेको छ । यो खण्डमा ५ ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको हो । महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको बताइएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ।

फास्ट ट्रयाकलाई आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ ।

फास्ट ट्रयाकलाई आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिने छ । त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । २०७४ जेठ १४ मा शिलान्यास भएको यो आयोजना सेनाले २०८१ मंसिरभित्र सकि सक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको शुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ ।

७०.९७ किलोमिटर लामो काठमाडौंबाट निजगढ एकै घण्टामा पुग्न सकिने राष्ट्रिय गौरवको आयोजनाको माघ मसान्तसम्मको भौतिक प्रगति ३०.९६ प्रतिशत र आर्थिक प्रगति ३१.५७ प्रतिशत छ । सेनाले अहिले फास्ट ट्रयाकलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । रुख कटान, जग्गा अधिग्रहण र ठेक्का लगाउन बाधा नहुँदा परियोजना समयमै सकिने नेपाली सेनाले बताउँदै आएको छ ।

Logo