हिम्मतले भेडीगोठ धानेका हिमबहादुर, गर्छन् लाखाैंकाे आम्दानी

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर, गर्छन् लाखाैंकाे आम्दानी

केन्द्रबिन्दु
28
Shares

म्याग्दी (बेनी) । दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात खुला आकासमुनि त्रिपालको छाप्रोमा बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले यसरी जंगलमा भेडीगोठमा बस्न थालेको ८ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाहरुकै पेसालाई पच्छाउँदै भेडीगोठ पसेका थिए ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अंगालेका छन्त्याल अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका बन, जंगल, बुकी र खर्कमा भेटिन्छन् । छन्त्यालले करिब ५ सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन् । लामो वैदेशकि रोजगारलाई बिट मार्दै पुर्खाहरुको पेसालाई अंगाल्दै आफूले भेडापालन गरेको भेडीगोठका सञ्चालक छन्त्याल बताउँछन् ।

हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरुमा पु-याउने गरिन्छ । हिउँदयाममा भेडीगोठलाई अहिले मल्कबाङको बेशीको फाँटमा झारिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले वेँसीका खेतवारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ । वैशाख–जेठसम्म्म बेँसी र पहाडका फाँट र जंगलमै राखिने भेडीगोठ जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरुमा पुग्छन । घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीय स्तरमै आत्मनिर्भर बन्ने उदेश्यले भेडापालन गरेको छन्त्यालले बताए । सहरको सुविधालाई छाडेर गाउँ पसेकोमा आफुलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन् । ४७ बर्षका छन्त्यालले भेडापालनबाट बार्षिक २० देखि २५ लाख सम्मको भेडाबाख्रा विक्रि हुने गरेको बताउँछन् ।

घुम्ती गोठमा गरिने भेडापालन पेसा कठिन भएपनि भेडाबाख्राको बजारीकरणमा समस्या भने नरहेको कृषकहरु बताउँछन् । भेडा, र खसी/बोका खोज्दै ग्राहकहरु गोठमै पुग्ने गरेका छन् । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाब नहुने भएपनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाब हुने भेडापालक कृषकहरु बताउँछन् । दशैं र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीहरु समेत गोठमा पुगेर भेडा, खसी गरिद गर्ने गर्छन भने स्थानीय स्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिका लगायतका देवी देवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोकाहरु धेरै खपत हुने गरेको छ । हिमाली बुकीहरुमा समेत पालिने भएकाले भेडीगोठका भेडाहरुको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकाँश समय बन जंगलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्ने गर्छ ।

पछिल्लो समय भेडापालन गर्ने कृषकहरु घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगाएर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए । उनले भेडापालक कृषकहरुलाई अनुदान र सहुलियत दिने पहल थालिएको बताए ।

जंगलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, बर्षा, हिमपात लगायतको प्राकृतिक विपत्तिहरुकोसमेत सामना गर्नुपर्छ । आफूले निरन्तर रुपमा अस्थायी टहराको लागि माग गरेपनि सम्वोधन नभएको छन्त्यालले बताए । उनले हिमपात र भारी बर्षा हुँदा भेडाका पाठापाठीहरु बचाउन मुस्किल पर्ने भएकाले आफूले चरनक्षेत्रमा सामुहिक रुपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताए । छन्त्यालको भेडीगोठमा अहिले तीन जना हेरालु छन् भने बन्यजन्तुको आक्रमणबाट बचाउन पाँच वटा भोटे प्रजातिका कुकुरहरु समेत रहेका छन् ।

Logo