निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग अध्यक्ष ढकालकाे आग्रह

निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग अध्यक्ष ढकालकाे आग्रह

केन्द्रबिन्दु
70
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि ढकाल थिए । गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा बार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।

अध्यक्ष ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए । उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।

महासंघका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । उनले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए ।

यसैबीच उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले नबुझेकाे पनि उनले जानकारी दिए ।

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । उनले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे ।

निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । ‘यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौं र राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौं,’ उनले भने ।

अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।

Logo