फूलका बिरुवाको पनि बदलिँदा स्वरुपः लाखौं मूल्य, आकर्षक डिजाइन [भिडियाेसहित]

फूलका बिरुवाको पनि बदलिँदा स्वरुपः लाखौं मूल्य, आकर्षक डिजाइन [भिडियाेसहित]

यी हुन् फूलका महँगा ६ बिरुवा

केन्द्रबिन्दु
798
Shares

–राजिव न्यौपाने

काठमाडौं । सजावटका लागि फूलको प्रयोग गर्ने तथा घरको बगैँचामा फूल रोप्ने प्रचलन बढ्दो छ । फूलका पारखीहरू आफ्नो घरको बगैँचामा वा गमलामा विभिन्न प्रकारका फूलहरू रोप्न रुचाउँछन् । सोही विषयलाई मध्यनजर गर्दै फूलका व्यवसायीहरूले नयाँ/नयाँ भेराइटीका फूल उत्पादन गर्दै आइरहेका छन् ।

नेपालमा पछिल्लो समय फूलको व्यवसायीक नर्सरी सञ्चालन गरी उद्यमी बन्ने युवाको जमात पनि बढ्दो रहेको नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए । नयाँ व्यवसाय सँगसँगै नयाँ प्रकारका फूल उत्पादन गर्ने ट्रेन्ड बढेको पाइन्छ ।

‘काठमाडौं जस्तो घरैघरको चाप भएको ठाउँमा फूलका बिरुवा रोप्नका लागि पर्याप्त ठाउँ हुँदैन, फूल रोप्न चाहनेले घरको छत वा सिडीमा गमलाको प्रयोग गरी फूल रोप्छन्, बजारमा महँगादेखि सस्तासम्म फूलका बिरुवा उपलब्ध छन्, अहिले फूललाई क्रस गरेर विभिन्न प्रकारका फूल उत्पादन भइरहेको छ,’ उनले भने । जोकोहीलाई लोभ्याउने फूल सिजनल तथा लोपोन्मुख पनि हुन्छन् ।

नेपालमा फूलमा आत्मनिर्भर छैन । यद्यपि सरकारले पहल वा स्थानीय तह अग्रसर हुन सके फूलमा पनि देश आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको तिमिल्सिना भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनी बताउँछन् । ‘नेपालमा प्रयाँ चार्ड पर्वको अवसरमा फूल धेरै खपत हुने गर्छ, त्यो बेला भारतबाट करोडौं रकमको फूल भित्रिन्छ, चाडपर्व अगावै सयपत्री साथै अन्य फूलहरू सरकार तथा स्थानीय तहसँग सहकार्य गरी व्यवसायीक फूल यही उत्पादन गर्न सके फूलको आयात पनि कम हुन्थ्यो,’ उनले भने ।

हजारौं फूलका बिरुवाको मध्ये त्यसको क्वालिटी साथै आकार प्रकार हेरेर नर्सरी व्यवसायीहरूले विभिन्न फूलको मूल्य निर्धारण गर्ने गर्छन् । ति फूल मध्ये जुन यस्ता छन् जसको मूल्य नै लाखौं रुपैयाँ पर्छ । लाखौं मूल्य पर्ने यि फूलका बिरुवा सामान्य फूल भन्दा भिन्न हुने व्यवसायीहरू बताउँछन् ।

पिपल नर्सरी सञ्चालक रोशन श्रेष्ठले एउटा फूललाई नै तयार गर्दा धेरै समय लाग्ने भएकाले महँगो पर्ने बताए । ‘कुनै–कुनै बिरुवा बनाउन एक एक/डेढ वर्ष समय लाग्छ, वर्षौं लगाएर तयार बनाएको बिरुवा महँगो नै पर्छ,’ उनले भने । महँगा बिरुवाहरू होटल, ठूला घराना, ठूलाठूला घरमा सजावटका लागि प्राय लैजाने गरेको श्रेष्ठले बताए ।

उनी महँगा फूलका लागि हेरचाह पनि त्यही अनुसारको हुन पर्ने बताउँछन् । आजकाल हाइब्रिड गरेर चाहे अनुसारको फूल फुलाउन सकिने विधिको विकास भएको छ । उक्त विधिको प्रयोग गरेर सुन्दर तथा चाहे अनुसारको फूल उत्पादन पनि गरिँदै आएको छ ।

युक्का प्लान्ट

यो प्लान्ट हेर्दा सामान्य देखिन्छ । यद्यपि यसको महत्व भने धेरै रहेको अल ट्रपिकल प्लान्ट हाउसका सञ्चालक गणेश कुँवरले बताए । उनका अनुसार युक्का प्लान्टबाट अन्य बिरुवाहरू पनि निकाल्न सकिन्छ । अन्य प्लान्ट भन्दा फरक प्रकृतिको यो प्लान्ट सजावटको लागि धेरै प्रयोग हुने गर्छ । कुँवरले सो प्लान्ट हुर्किन धेरै समय लाग्ने जानकारी दिए । अल ट्रपिकल प्लान्ट हाउसले उक्त प्लान्टको मूल्य एक लाख रुपैयाँ तोकेको छ । जसको आकार प्रकार हरेर मूल्य निर्धारण हुने कुवरको भनाइ छ ।

सिमेडिया अर्किड
‘सिमेडिया अर्किड’ फूल निक्कै सुन्दर साथै लोकप्रिय फूलका रूपमा लिइन्छ । यो फूल फूलेपछि लामो समय टिक्ने नमो बुद्ध फूल नर्सरीका सञ्चालक तेन्जिङ लामाले बताए । उनका अनुसार नमो बुद्ध फूल नर्सरीले उक्त फूलको मूल्य २२ हजार रुपैयाँ तोकेको छ । अर्किट जंगलमा रुखमा टाँसिएर तथा झुण्डिएर फूल्ने फूल हो ।

मोनस्टेरा प्लान्ट


हेर्दा आकर्षक देखिने मोनस्टेरा प्लान्ट धेरैको रोजाइमा पर्नेगर्छ । यसलाई धेरैले आफ्नो घरमा रोप्ने गर्छन् । मोनस्टेरा प्लान्टले घरको शोभा मात्र नभई घर–कोठालाई आकर्षक देखाउनका साथै वायु शुद्धीकरणमा पनि सहयोग गर्ने हिमालयन प्लान्ट हबका सुशील खड्काले बताए । उनका अनुसार यो प्लान्टलाई १५ हजार मूल्य बढी रकम तोकिएको छ । यसको आकार हेरेर मूल्य निर्धारण गरिने उनको भनाइ छ । घरभित्र यो प्लान्ट रोप्दा सकारात्मक ऊर्जा प्रवाह हुने खड्काले बताए ।

धुपी
सामान्य तय तपाईंलाई लाग्न सक्छ एउटा धुपीलाई २००÷३०० रुपैयाँमा पाइन्छ । तर, पिपल नर्सरी सञ्चालक रोशन श्रेष्ठले तयार गरेको एउटै धुपीलाई डेढ लाख रुपैयाँ पर्छ । उनका अनुसार यो धुपीलाई आकार दिएर बनाउँदा बढी समय लाग्दा मूल्य महँगो पर्न गएको हो । ‘नर्सरी व्यवसायमा म लागेको करिव तीन दशक भयो, धुपीलाई फरक प्रकृतिको डिजाइनमा ल्याउनको लागि २५ वर्ष लागेको छ, ‘उनले भने, ‘मैले तयार गरेको यो धुपी सम्भवतः मान्छेको भन्दा बढी आयु हुन्छ, यस्तै किसिमका अन्य धुपी ४०/५० रुपैयाँमा उपलब्ध छन् ।’ उनले भने ।

श्रेष्ठले धुपीलाई आकर्षक डिजाइन दिई तयार गरेका छन् । उनका अनुसार यो धूपी रोप्नको लागि ठाउँ पनि धेरै चाहिन्छ । उनी भन्छन्, ‘जसले यसको महत्व बुझ्छ, उसले किन्छ ।’

सिङ्गल एचाेलिया फूल
यो फूल काठमाडौं नर्सरीको आफ्नो प्रडक्ट हो । सिजनमा फूल्ने यो फूल लालीगुराँस जस्तो देखिन्छ । यसलाई घरको बगैँचामा राख्दा अन्य फूलको तुलमा उत्कृष्ट देखिने काठमाडौं नर्सरीका कर्मचारी अर्जुन थापा बताउँछन् ।‘यो फूललाई प्रत्यक्ष घाममा राख्न मिल्दैन, हल्का सेपिलो ठाउँमा रोप्दा उपयुक्त हुन्छ, यसलाई त्यही अनुरूपको ठाउँको व्यवस्थापन गरेर रोप्न सके यसको आयु पनि धेरै हुन्छ,’ उनले भने ।

उनका अनुसार ठूलो साइजको सो फूलका मूल्य १० हजार पर्छ । सिङ्गल एचाेलिया फूलका बिरुवामा पनि उपलब्ध हुन्छ । साना बिरुवा ५००/१००० रुपैयाँमा नै उपलब्ध रहेको बताए ।

बोन्साई प्लान्ट

बोन्साइ प्लान्ट हेर्दा निकै पृथक देखिन्छ । यो प्लान्ट फूलका धेरै पारखीहरूले रुचाउँछन् । जसको मूल्य भट्टराई नर्सरीले प्रतिगोटा ६० हजार रुपैयाँ तोकेको छ । भट्टराई नर्सरीका कर्मचारी रोजिन मुनाकमीले बोन्साई प्लान्टलाई हातैले जोडेर यसको आकार दिइने बताए । जसले गर्दा पनि धेरै मूल्य पर्ने उनको भनाइ छ । यो प्लान्ट पनि घरको डेकुरेसन गर्नको लागि प्रयोग गर्ने गरिन्छ ।

Logo