चर्चित राइड सेयरिङ एप कम्पनी पठाओले मुलुकका थप १७ सहरमा सेवा बिस्तार गर्ने भएको छ ।
बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओले मुलुकका मुख्य सहरहरूमा सेवा बिस्तार गर्न लागेको हो । पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातका अनुसार अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । साथै मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा विस्तार हुने छ ।
त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको प्रबन्ध निर्देशक बस्न्यातले जानकारी दिए । राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन पनि उनको आग्रह छ ।
“इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।” उनले भने ।
कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गरेको छ । हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् ।
सेवाग्राहीको हितमा ध्यानमा राख्दै पठाओले २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ । सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासो तथा सुझाव दर्ता गराउन सक्ने पनि कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया