जी मोटर्सले ईभी गाडीमा नम्बर वान बन्न सक्ने प्रडक्ट ल्याएकाे छः प्रबन्ध निर्देशक गेलाल

जी मोटर्सले ईभी गाडीमा नम्बर वान बन्न सक्ने प्रडक्ट ल्याएकाे छः प्रबन्ध निर्देशक गेलाल

केन्द्रबिन्दु
2.9k
Shares

काठमाडौं । जी मोटर्स कम्पनीले नेपालमा विभिन्न ब्रान्डका गाडीको डिलरसिप लिएर गाडी बिक्री गर्न थालेको लामो समय भइसकेको छ । तर, अब भने कम्पनी आफै आयातकर्ता भई गाडी बिक्री गर्दैछ । कम्पनीले स्काईवेल ब्रान्डको प्रिमियम एसयूभी ईभी गाडी बिक्री गर्ने तयारी थालेको हो । कम्पनीले सो गाडीको बुकिङ केही महिना अघि आयोजना गरिएको ‘नाडा अटो शो–२०२३’ देखि खुल्ला गरेको थियो । कम्पनीले गाडीको यही हप्ताभित्र आधिकारिक रूपमा लन्च गरेर डेलिभरी सुरु गर्ने योजना रहेको जी मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । चिनियाँ ब्रान्ड यो गाडी नेपाली ग्राहकका बीच पनि छिटै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । उनै प्रबन्ध निर्देशक गेलालसँग अटोमोबाइल क्षेत्रको यात्रा, आगामी योजना, स्काईवेल गाडीका विशेषता साथै यो गाडी किन किन्ने लगायतका विषयमा केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पा‍दित अंश-

पहिला तपाईंको अटोमोबाइल क्षेत्रको यात्राबाट कुरा गरौं, यस क्षेत्रमा तपाईं कसरी आइपुग्नुभयो ? तपाईंलाई अटो मोबाइल क्षेत्रमा के-ले आकर्षित गर्यो ?

-पढाइको एउटा निश्चित लेबल पार गरिसकेपछि अधिकांश मान्छे जागिर खाने सिलसिलामा दौडन्छन् । मैले पनि स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि जागिर खाने निर्णय गरें । सोही सिलसिलामा टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङसँग जोडिन पुगें र त्यहाँ जुनियर सेल्स अफिसर भई काम सुरु गर्न थाले । त्यो बेला अटोमोबाइल क्षेत्र मेरा लागि बिल्कुलै नयाँ थियो । तर, काम गर्दै जाँदा गाडीको सेल्स स्किल पनि बढाउँदै लगे ।

स्काईवेलका गाडीप्रति ग्राहकको आकर्षण पनि बढ्दो छ । अहिलेसम्म करिव ३५ वटा भन्दा गाडीको बुक भइसकेको छ ।

त्यहाँबाट गाडीको बारेमा जानकारी लिने साथै गाडी बिक्रीको तरिका पनि थाहा पाइयो । करिव साढे ९ वर्ष सिप्रदीमा काम गरेपछि अब आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने मनमा लाग्न थाल्यो । यद्यपि सानैबाट उद्यमी बन्नु पर्छ भन्ने मेरो सोच थियो । र, उक्त अवधि सिप्रदीमा काम गरेर छाडेपछि आफैले विभिन्न ब्रान्डका गाडीको डिलरसिप लिएर गाडी बिक्री थालेपछि अटो मोबाइल क्षेत्रमा मेरो व्यवसायीक यात्रा सुरु भएको थियो ।

तपाईंले पहिला कुन गाडीको डिलरसिप लिनुभएको थियो, त्यस्ता अहिले कति वटा गाडीका डिलर छन् ? त्यो अनुभव कस्तो चाहिँ रह्यो ?

-मैले कलंकीको रवि भवनमा टीभीएस मोटरसाइकलको डिलर राखेर आफ्नो यस क्षेत्रको यात्रालाई अगाडि बढाएको थिएँ । एकदमै छोटो अर्थात् ६ महिनाभन्दा कम समयमै त्यो बेला डेढ सय बढी बाइक बिक्री गर्न सफल भएका थियौं । त्यतिका बाइक बिक्री गर्दा पनि म अनविज्ञ जस्तै थिए । किनभने हामीले घाटा बेहोरी डिलर चलाई राख्नुपरेको थियो ।

बजारमा आइसकेपछि प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा के सँग गर्ने भन्ने विषय चाहिँ महत्वपूर्ण हो । तर, स्काईवेलको प्रडक्टको नेपालमा प्रतिस्पर्धी म देख्दिनँ ।

घाटा जान थालेपछि जुन लक्ष्यका साथ सिप्रदीबाट निस्किएको थिए त्यो बाइक बिक्री गर्दा मात्रै पूरा हुँदैन कि भन्ने मनमा लाग्न थाल्यो । जागिर खाइरहेका मान्छे । पहिलो पटक नै व्यापारमा घाटा बेहोर्दा आतिनु स्वाभाविक थियो । त्यसपछि मलाई जागिर छाडेर व्यवसायमा लागेर गलत गरेकी भन्ने पनि मनमा लाग्न थाल्यो । आफ्नो अनुभव भने चार पाङ्ग्रे गाडीमा थियो ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रे बिचको बुझाई गलत भएको विषयलाई मध्यनजर गर्दै टीभीएस मोटरसाइकलको डिलरलाई छाड्यौं । र, सन् २०१८ देखि फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सहकार्य गरी सल्लाघारीमा फोर्सका जिप सेगमेन्टका गाडी बिक्री गर्न थाल्यौं । हामीले करिव एक वर्षमा नै उक्त गाडी करिव ४०/५० वटा बिक्री गरेका थियौं ।

सन् २०१९ मा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्ससँग सहकार्य गरी सल्लाघारीबाटै उक्त ब्रान्डका गाडी बिक्री गर्न सुरु गर्यौं । त्यसको बजारीकरण, प्रवर्द्धन गरी सेल्स गर्दै अगाडि बढ्यौं । सोही क्रममा सन् २०२० मा अर्थात् कोभिड नजिकिँदै गर्दा नक्सालमा उक्त ब्रान्डकै गाडी बिक्री गर्ने शोरुम सञ्चालनमा ल्यायौं । त्यस पश्चात् काठमाडौं र भक्तपुरको आउटलेटबाट वार्षिक ३०० को हाराहारीमा गाडी बिक्री हुन थाल्यो ।

नक्सालमा साढे ३ वर्ष बिताई सक्दा सरकार नीति, नियम, बैंकको बढ्दो ब्याजदर लगायतका विविध कारणले गर्दा डिलर सस्टेन हुन सकेन । रेनोको बिक्रेता कम्पनीले पनि गाडी सोरुममा उपलब्ध गराउन नसक्दा स्टक घट्दै गयो र अन्त्यमा शोरुम नै बन्द गर्नु पर्यो । अहिले यो गाडी हामी बेच्दैनौं । त्यही बेला इटहरीमा निसान र कियाका गाडी पनि बिक्री गर्न थालेका थियौं । किया गाडीको शोरुम अहिले पनि इटहरीको भाटभाटेनी नजिकै रहेको छ । कम्पनीका अहिले भक्तपुरमा ४ वटा र इटहरीमा चार वटा शोरुम छन् । आउने दिनमा पनि अरू कम्पनीहरूसँग सहकार्य गरी नयाँ डिलर खोल्न सक्छौं । यति मात्र नभई अहिलेको अवस्थामा जी मोटर्स आफैंले स्काईवेलको गाडी आयात गरी बिक्री गर्न सुरु गरेको छ ।

तपाईंहरुले गाडी बिक्रीको अनुभव बटुलिसक्नुभएको छ, अब आयातकर्ता भएर गाडी बिक्री गर्दै हुनुहुन्छ, खासमा तपाईंहरुले नेपालमा स्काईवेलको कस्ता गाडी बिक्री गर्न लाग्नु भएको हो ?

-नेपालको अटो मोबाइल इन्डष्ट्री फसिल फ्यूलबाट ईभीतर्फ लम्कँदै छ । ईभीको प्रयोगकर्ताहरूको संख्या पनि बढ्दो पाइन्छ । भन्सार विभागको तथ्याङ्कले सानादेखि ठुलासम्म सयौं संख्या ईभी गाडी भित्रिएको देखिन्छ । ईभीको प्रयोगकर्ता बढ्दो, यसलाई ग्राहकले रुचाउनु यो सबल पक्ष पनि हो । सोही विषयलाई मध्यनजर गर्दै नेपालमा हामीले स्काईवेलका प्रिमियम एसयूभी ईभी गाडी भित्र्याएका छौं । ६२० किलोमिटर रेन्ज भएको ‘स्काईवेल ईटी–५’ प्रिमियम एसयूभी ईभी गाडीलाई यस वर्ष आयोजना भएको नाडा अटो शोबाट सार्वजनिक गरेका थियौं । यद्यपि हामीले सार्वजनिक गरे पनि त्यो बेला गाडी आइसकेको थिएन । भर्चुअल माध्यमबाट सार्वजनिक भएको यो गाडी अब भने आधिकारिक रूपमा सार्वजनिक गरी बिक्री गर्ने तयारी गर्दैछौं ।

सम्भवतः आगामी हप्ताभित्र यो गाडी सार्वजनिक गर्छौं । त्यसको अनुभव मैले लिएको छु किनभने यो कार इटहरी पुग्दा करिव ५५ प्रतिशत मात्र चार्ज सकिन्छ ।

अहिलेसम्म कति वटा गाडी बुक भए, डेलिभरी कहिलेबाट सुरु गर्ने प्लानमा हुन्छ ?

-हामी यो गाडी लन्च गरे पश्चात् नै डेलिभरी सुरु गर्ने योजना बनाएका छौं । स्काईवेलका गाडीप्रति ग्राहकको आकर्षण पनि बढ्दो छ । अहिलेसम्म करिव ३५ वटा भन्दा गाडीको बुक भइसकेको छ ।

नेपाली ग्राहकले नयाँ ब्रान्ड विश्वास गर्लान् ? तपाईंहरुलाई बजारमा सस्टेन हुन कतिको सहज होला ?

-स्काईवेलका प्रडक्ट विश्वका विभिन्न ४४ वटा देशमा बिक्री वितरण हुँदै आएको छ । चाइनाबाट उत्पादन भई विशुद्ध नेपाल आउने हैन । यो एउटा अन्तर्राष्ट्रिय बजारमा परिचित ब्रान्ड हो, जसले गर्दा हामीलाई बजारमा सस्टेन हुन गाह्रो पर्दैन भन्ने विश्वास छ । यो गाडीलाई हामीले भित्र्याईसकेपछि सर्भिस नेटवर्कको विस्तार गर्ने क्रमलाई पनि बढाएका छौं । नेपालका मुख्य सहरमा स्काईवेल गाडीको शोरुम सञ्चालन गर्ने योजना अनुरुप अहिले अगाडि बढिरहेका छौं ।

स्काईवेलका ईभी गाडीसँग नेपाली अटो मोबाइल बजारको अपेक्षा कस्तो पाउनु भएको छ ?

-यो प्रडक्ट प्रति चासो दिने ग्राहकहरू संख्या दिन प्रतिदिन बढ्दो छ । हामीले नाडा अटो शोमा २५ सय बढी मान्छेको इन्क्वायरी कलेक्सन गरेका थियौं । अहिले पनि दैनिक ५/१० जनाले भिजिट गरी यो गाडीको बारेमा बुझिराख्नुभएको छ ।

अन्य कम्पनीसँगको प्रतिस्पर्धा तपाईंहरुको कस्तो रहन्छ ?

-बजारमा आइसकेपछि प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा के सँग गर्ने भन्ने विषय चाहिँ महत्वपूर्ण हो । तर, स्काईवेलको प्रडक्टको नेपालमा प्रतिस्पर्धी म देख्दिनँ । किनभने हामी उच्च रेन्जको गाडी प्रिमियम लक्जरी सेगमेन्टमा ग्राहकले डेलिभरी गर्दैछौं । त्यो पनि एकदमै न्यूनतम मूल्यमा । ६२० किलोमिटरको रेन्ज दिनलाई ८६ किलोवाट आवरको ब्याट्री भएको यो गाडीमा १५० किलोवाटको मोटर जडान गरिएको छ । हामीले भन्सार शुल्क पनि १५० किलोवाट क्याटाेगोरीमा बुझाएर छौं । नेपालका अन्य ब्रान्डको जस्तो गाडीलाई ९९ किलोवाटमा झारेर सरकारलाई कम भन्सार तिरेर मूल्य निर्धारण गरेको प्रडक्ट हाम्रो हैन । हाम्रो प्रडक्ट जे हो त्यही आएको छ ।

नेपालमा आएका ठूला रेन्जका भनिने ईभी गाडीको रेन्ज कम गरी ९९ सय किलोवाट गरेर यहाँ ल्याइएको छ । त्यस गाडीको चाइनाका साइडमा हेर्नु भयो भने १५०/१६० किलोवाट मोटर क्षमताको उपलब्ध हुन्छ । तर, नेपाल आईपुग्दा ९९ किलोवाटको मात्रै हुन्छ कसरी ? उहाँहरूले उत्पादक कम्पनीसँग कुरा गर्नु भएको होला । जे होस् हामीले नेपाली ग्राहकलाई हाम्रो प्रडक्टको प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउन खोज्दै छौं ।

यद्यपि हाम्रो प्रतिस्पर्धा बजारमा हुन्छ । किनभने कहिलेकाहिँ मूल्य तथा फिचरका कारणले हुन सक्छ । बजारमा आएकै ईभी गाडी पनि कसैको मूल्य बढी छ, कसैको घटि छ । त्यो प्रतिस्पर्धाभित्र पनि नम्बर वान बन्न सक्ने प्रडक्ट हामीले ल्याएका छौं । हाम्रो प्रडक्टले छोटो समयमै नेपाली बजारमा फड्को मार्छ । यो प्रडक्ट ग्राहकको रोजाइमा पर्छ भन्ने विषयमा विश्वस्त छौं ।

नयाँ ब्रान्ड ल्याएर गाडी मात्रै बेच्ने प्रवृत्ति देखिएको छ । बिक्री पछिको सर्भिस चाहिँ निकै फितलो पाइन्छ, कम्पनीको सर्भिस नेटवर्क विस्तार गर्ने प्लान के छ ?

-कुनै पनि सामग्री बिक्री गरेपछि त्यो कम्पनीले सर्भिसको पनि वारेन्टी दिन सक्नुपर्छ । सो विषयलाई पनि मनन गर्दै भक्तपुरमा सर्भिस तथा पार्टस नेटर्वक तयार गर्ने कार्य अगाडि बढाएका छौं । गाडीको डेलिभरी सुरु गरेसँगै उक्त सेन्टर पनि सञ्चालनमा ल्याउँछौं । हामी गुणस्तर सर्भिसमा फोकस छौं । गाडीको पार्टस साथै त्यससम्बन्धी उपकरणहरू आइसकेको छ ।

विभिन्न ब्रान्ड कम्पनीले गाडी आयात गरेर मात्र ल्याउन खोज्ने निश्चित सर्भिस दिन नसक्ने अवस्था अहिले पनि छ । त्यो गलत हो । जहिलेसम्म त्यो प्रडक्ट हुन्छ त्यतिबेलासम्म सर्भिस पार्टको वारेन्टी कम्पनीले लिएर अगाडि बढ्नु पर्छ ।

रकारले अटो मोबाइल क्षेत्रका नीति नियमलाई स्थिर गर्न आवश्यक छ । किनभने कुनै पनि व्यवसायी वा व्यक्तिले व्यवसाय गर्ने एउटा प्लान बनाएर आएको हुन्छ ।

ईभी गाडीको मर्मत साथै ब्याट्रीको विषयलाई लिएर धेरै ग्राहकहरु चिन्तित देखिन्छन्, तपाईंहरुकाे गाडीको ब्याट्री लाइफ टाइम कति हो, यदि ब्याट्री बिग्रिए के गर्ने ?

-हाम्रो ईभी प्लेटफर्ममा बनेको गाडी हो । हामीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएका छौं । त्यसमा कम्पनीले सर्भिसिङको सुविधा पनि दिएको हुन्छ । ब्याट्री बिग्रिए पूरा ब्याट्री नै फेर्नुपर्छ भन्ने हुँदैन । ब्याट्रीको विभिन्न सेल हुन्छ । त्यो सेललाई मर्मत गरी कुदाउन सकिन्छ । विश्व बजारको मूल्य हेरेर अहिलेको अवस्थामा ब्याट्रीलाई यति नै पर्छ भनेर मूल्य तय गर्न सकिँदैन । किनभने प्रविधिको विकास सँगसँगै ईभी गाडीको ब्याट्री दिन प्रतिदिन सस्तो हुँदै आएको छ । विस्तारै यसको पार्ट्सहरु पनि सस्तो हुँदै जान्छ ।

सरकारका कारण गाडी व्यवसायीलाई परेका समस्या के हुन् ? तपाईंको नजरबाट हेर्दा अटो मोबाइल क्षेत्रको सुधारको लागि के काम गर्न आवश्यक छ ?

-सरकारले अटो मोबाइल क्षेत्रका नीति नियमलाई स्थिर गर्न आवश्यक छ । किनभने कुनै पनि व्यवसायी वा व्यक्तिले व्यवसाय गर्ने एउटा प्लान बनाएर आएको हुन्छ । प्लानमा काम गर्न सोच बनाइरहेको व्यवसायीलाई एक वर्ष एउटा, अर्को वर्ष अर्को नीति आयो भने समस्या हुन्छ । त्यसैले अटो मोबाइल क्षेत्रको स्थिर नीति बन्नुपर्छ । पछिल्लो २ वर्षमा केही नीति नियममा स्थिरता देखिएकाले यो लेभलको ईभी बजारमा आएको छ । सरकारले ढुक्क भएर लगानी गर्नुहोस् भनेर भन्यो भने व्यवसायी लगानी गर्नबाट पछि हट्दैनन् । तर, सरकारले लगानी सुनिश्चित हुने आधार देखाउन सक्नु पर्छ ।

अन्त्यमा, आगामी दिनमा कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ ?

-व्यवसायीक यात्रा चुनौतीपूर्ण छ । नेपाल जस्तो देशमा व्यापार गर्नको लागि बहुतै गाह्रो छ । हामी पलायन मुलुक भइसक्न लागेका छौं । रोजगारी सिर्जना पनि घट्दै गएको अवस्था छ । त्यो चुनौतीलाई चिर्दै नयाँ रोजगारी सिर्जना साथै नयाँ प्रडक्टको विस्तारमा लागि रहेका छौं । गाडी बिक्रीपछिको गुणस्तर सर्भिसलाई कायम राख्दै अगाडि बढ्ने योजना बनाएका छौं ।

Logo