नयाँ वर्षमा कुन ब्रान्डका गाडी किन्दा के पाइन्छ छुट ?

नयाँ वर्षमा कुन ब्रान्डका गाडी किन्दा के पाइन्छ छुट ?

केन्द्रबिन्दु
588
Shares

काठमाडौं । नेपालमा विभिन्न ब्रान्डका गाडी बिक्री गर्ने कम्पनीहरूले गाडीको खरिद गर्न चाहने ग्राहहरुलाई लक्षित गर्दै विभिन्न छुटको सुविधा ल्याएका छन् । उक्त कम्पनीहरूले नयाँ वर्ष (२०८१) को अवसर पारेर गाडी खरिद गर्न चाहने ग्राहकलाई विशेष छुटको सुविधा ल्याएका हुन् । नयाँ वर्ष नजिकिएसँगै गाडी बिक्रेता कम्पनीहरूले विभिन्न अफर सार्वजनिक गर्ने क्रम जारी छ । कम्पनीहरूले गाडीको खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर ल्याएका छन् । ग्राहकहरूलाई आकर्षित गर्नका लागि कम्पनीहरूले यस्ता किसिमका स्किमहरू हरेक नयाँ वर्षमा ल्याउने गरेको पाइन्छ ।

यस्ता छन् कम्पनीका स्कीम

होण्डाका गाडी खरिद गर्दा नगद छुट

स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको अवसरमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधाहरू ल्याएको छ । कम्पनीले नयाँ वर्षमा होण्डा कारको खरिद गर्दा २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक वर्षको फुल इन्स्योरेन्स र नगद छुटको सुविधा ल्याएको छ ।

यस्तै, कम्पनीले ग्राहकको सुविधालाई मध्यनजरमा राख्दै रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ । कम्पनीका अनुसार यो अफर चैत्र १ गतेबाट लागु गरिएको छ भने उक्त अफर २०८१ साल बैशाख ३१ गतेसम्मका लागि हुनेछ ।

सिट्रोनको एक्सचेन्ज अफर

नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली नयाँ वर्षको अवसरमा अटो उत्साहीहरुका लागि चलिरहेको अफरलाई नै निरन्तरता दिएको छ । कम्पनीका अनुसार यो अफरमा ग्राहकहरूले फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन इ– सी३ को खरिदमा, नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् ।

जिडब्लुएमका गाडी किन्दा १० लाखसम्म छुट

जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भि.जी. इम्पेक्स प्रा.लिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो योजना अन्तर्गत जिडब्लुएमका विभिन्न मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफर ल्याएको छ । जीडब्लुएमका मोडेलहरूको खरिदमा ग्राहकहरूले विभिन्न स्किम पाउँने कम्पनीले बताएको छ । ओरा ०३ ईभीमा नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाखसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले यसको स्टाइल र लक्जरीको साथ, निःशुल्क ७ किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्षसम्म १ लाख ५० हजार किमी वारेन्टी लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्तै, हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाखसम्मको नगद छुट, एक वर्षसम्मको बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज पनि रहेको छ । यसका साथै पावरमा १० लाखसम्मको इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेको पनि कम्पनीले बताएको छ । जिडब्लुएमकोे पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख रुपैयाँसम्मको फाइदा लिन सकिने कम्पनीले बताएको छ ।

हुन्डाईका गाडी किन्दा ६ लाख छुट

नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ अफर सावर्जनिक गरेको छ । उक्त योजना अन्तर्गत हुन्डाईका कुनै पनि मोडलका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको छुट र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्म बोनस पाउँन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार योजना अन्तर्गत गाडी खरिदमा उपलब्ध हुने स्क्रयाच कार्डको तीन गुणसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीले बीमा साथै एक वर्षसम्मको सडक कर पनि बेहोर्ने बताइएको छ ।

Logo