पोखरामा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्य रुपमा सम्पन्न

पोखरामा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
98
Shares

पोखरामा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।

नेपालमै पहिलोपटक विश्व खेलकुद दिवसको अवसरमा शुक्रबार र शनिबार आयोजित उक्त प्रतियोगितामा महिला र पुरुष गरी ५६ जना खेलाडी सहभागी थिए । जसमा चैत्र २३ गते छनौट खेल खेलाएर २५ जना पुरुष ओपन इलाइट खेलाडीलाई छनौट गरिएको थियो । महिलातर्फ ७ जना र ओपन ३० प्लस मास्टर्समा ७ जना खेलाडीलाई फाइनल खेल खेलाइएको थियो ।

पुरुषतर्फ ओपन इलाइटमा काठमाडौका राजेश मगरले उपाधि हात पारे भने दोश्रो अन्जित बुढाथोकी तथा तेस्रो आशुतोष धोजु थिए । यस्तै, महिलातर्फ ललितपुरकी बर्षा बस्नेतले उपाधि जितिन् भने दोश्रो मन्दिरा भण्डारी र सुरक्षा केसीले तेस्रो स्थान हासिल गरिन् ।

ओपन ३० प्लस मास्टर्समा राज शाहीले पहिलो स्थान लिएका थिए भने विकास श्रेष्ठ दोश्रो र अजित बराल तेस्रो बने ।

पुरुषतर्फ ओपन इलाइटले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गरेका थिए भने महिलातर्फ ललितपुरकी बर्षा बस्नेतले १ लाख ५० हजार प्राप्त गरिन् । ओपन ३० प्लस मास्टर्सको सातै जना खेलाडीलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

फाइनल खेलको उद्घाटन प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले हरियो झन्डाले संकेत गरेर गरेकी थिइन् । नेपाल अटोमोबाइल्स एशाेसिएशन (नाडा नेपाल), अन्तर्राष्ट्रिय नियामक संस्था (एफआईएम), प्रदेश खेल्कुद परिषद लगायतबाट अनुबन्धित उक्त खेलमा हजारौं दर्शकको उपस्थिती थियो । खेल सुरु हुनुअघि नाडाका उपाध्यक्ष अनिल के बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराएका थिए ।

साे अवसरमा उपसभामुख रानाले प्रतियोगिता सम्पन्न बनाउन विभिन्न संघ संस्था, स्पोन्सरसिप र खेलप्रेमी लगायत खेलाडीहरुको राम्रो साथ र सपोर्ट भयो भने यस्ता खालका एड्भेन्चर खेलहरुले नेपाललाई विश्वसामू चिनाउन धेरै कुर्नु नपर्ने बताइन् । साथै नाडाका गण्डकी अध्यक्ष शिव श्रेष्ठले यस्ता खालका आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषणा भएको पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने बताए ।

Logo