टेलिकमद्वारा डोल्पामा एफटिटिएच नेटवर्क सेवा सुरु

टेलिकमद्वारा डोल्पामा एफटिटिएच नेटवर्क सेवा सुरु

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरेकी हुन् । यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ । मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।

सो अवसरमा मन्त्री शर्माले देशैभरी अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्याउने सरकारको अभियान साकार हुँदै गएको बताइन् । उनले नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म बिस्तार गर्न पनि आग्रह गरिन् । “सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट बञ्चित गर्दैन” उनले भनिन्, “सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ ।”

इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गरिन् । सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उनले आग्रह गरिन् ।

कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाइन् । उनले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याइन् । उनले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताइन् ।

Logo