चैत्रमा घर जग्गाको कारोबार घट्यो, ३ अर्ब उठ्यो राजश्व

चैत्रमा घर जग्गाको कारोबार घट्यो, ३ अर्ब उठ्यो राजश्व

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को चैत्र महिनामा घरजग्गाको कारोबार घटेको छ । फागुन महिनाको तुलनामा चैत्रमा झिनो अंकले घर जग्गाको कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

विभागको तथ्यांकअनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९९८ वटा संख्यामा मात्रै भएको थियो । विभागका अनुसार चैत्रमा ५ हजार ८८६ वटा नामसारी भएको छ ।

अघिल्लो महिनाको तुलनामा चैत्रमा भने नामसारी गर्नेको संख्या बढेकाे छ । फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । फागुनमा लिखित पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९ वटा जग्गाको भएको थियो ।

यस्तै, चैत्रमा ३९ हजार ८ सय २२ वटा जग्गा रोक्का र २९ हजार २ सय ४७ वटा जग्गा फुकुवा भएको पनि विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चैत्रमा १८ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । चालु आर्थिक वर्षको फागुन महिनामा ५५ वटा जग्गा दर्ता र दाखिल खारेज २१ सय ९३ वटा भएको पनि विभागले जानकारी दिएको छ । केही वर्ष अघिका तुलनामा जग्गाको कारोबार सुधारोन्मुख हुँदै गएको तथ्यांकले देखाएको छ ।

चैत्र महिनामा भएको घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । विभागअनुसार चैत्रमा देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो महिना अर्थात् फागुनमा घर जग्गाबाट सरकारलाई ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार देशभरका मालपोत कार्यालयबाट सेवा करवापत ३१ करोड ५२ लाख ५० हजार ९८२ रुपैयाँ संकलन भएको छ, अघिल्लो महिना सेवा करवापत २५ करोड ६६ लाख रुपैयाँ संकलन भएको थियो । यस्तै, चैत्रमा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ, पूँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत राजस्व संकलन गरेको छ ।

Logo