सर्वोत्तम सिमेन्टले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेन

सर्वोत्तम सिमेन्टले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेन

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टको पछिल्लो आर्थिक वर्षको तीन त्रैमासिक वित्तीय विवरण सार्वजनिक नगरेको पाइएको छ।

सर्वोत्तमले गत असार मसान्तसम्मको वित्तीय विवरण पुषमा सार्वजनिक गरेको भएपनि यस आर्थिक वर्षको तीन त्रैमासिक वित्तीय विवरणभने सार्वजनिक गरेको छैन। पुषमा सार्वजनिक गरेको विवरणमा जम्मा २० करोड रूपैयाँ मात्रै मुनाफा रहेको देखाएको थियो।

कम्पनीले यहीँ बैशाख १२ गते वार्षिक साधारणसभा गरी ६९ करोड ७५ लाख रुपैयाँ लाभांश वितरण गर्ने तयारीमा लागेको छ। सो लाभांश शेयरधनीसँग लिएको प्रिमियमबाट वितरण गर्न लागिएको बताइएको छ।

एकातिर वित्तीय विवरण समयमा प्रकाशित नगर्ने, अर्कोतिर ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्नुका पछाडि नियामक निकायलाई नेपथ्यमा राख्न खोजेको देखिएको छ।

सर्वोत्तम सिमेन्टले चालू आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छैन।

कम्पनीले वित्तिय विवरण सार्वजनिक नगर्नुको कारणबारे सिईओ सन्तोष केसीले जवाफ दिन खोजेनन्। तर, कम्पनी स्रोतका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनी भित्रभित्रै अप्ठ्यारो अवस्थामा पुगेको र पछिल्लो तीन महिनामा मात्रै करोडौँ रुपैयाँ घाटामा गएकोले हिसाब किताब मिलाउने कार्य भइरहेको बताइन्छ।

एकातिर कम्पनी घाटामा गएर डुब्ने अवस्थामा पुग्ने, अर्कोतिर शेयर प्रिमियममा उठाएको रकमबाट लाभांश वितरण गर्ने र अर्कोतिर वित्तीय विवरण लुकाएर सर्वसाधारणलाई गुमराहमा पार्ने कार्य भइरहँदासमेत नियामक निकाय धितोपत्र बोर्डमाथि गम्भिर प्रश्नसमेत उठेको छ।

केही समय पहिले चर्को विरोध हुँदाहुँदै गैर कानूनीरुपमा जारी गरेको बुक बिल्डिङ आईपिओमाथि धेरै निकायमा छानबिनकै क्रममा रहेको छ।

Logo