तेस्रो लगानी सम्मेलनको पहिलो दिन यस्तो देखियो, भित्रिएला त ९ खर्ब विदेशी लगानी ? [भिडियाे]

तेस्रो लगानी सम्मेलनको पहिलो दिन यस्तो देखियो, भित्रिएला त ९ खर्ब विदेशी लगानी ? [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोल्टी होटलमा आयोजित विशेष समारोहमा तेस्रो लगानी सम्मेलनको उद्घाटन गरेका हुन् ।

यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

५ वर्षपछि दुई दिनसम्म चल्ने यस सम्मेलनमा करिब ९ खर्ब लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका लगानीकर्ताले भाग लिएका छन् । ‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ नाम दिइएको यस सम्मेलनमा १४ सय भन्दा बढीलाई निम्तो पठाएको भए पनि सम्मेलनमा सहभागी हुन निश्चित गरेका विदेशी भने जम्मा ३८५ जना मात्रै सहभागी रहेको बोर्डले जानकारी दिएको छ । सम्मेलनमा नेपालपछि छिमेकी राष्ट्र चीन र भारतबाट बढी लगानीकर्ता सहभागी भएका छन् । लगानी सम्मेलनमा को को विदेशी सहभागी भए भन्ने विषयमा भने रजिस्ट्रेसन भएकाको सूचीबाट हेर्नुपर्ने बोर्डले जनाएको छ ।

तर, तेस्रो लगानी सम्मेलनमा सहभागी हुन आएका विदेशी लगानीकर्तामध्ये एकजना पनि हाइप्रोफाइल बिजेसम्यान परेका छैनन् । लगानी सम्मेलनमा आउन लगानी बोर्ड नेपालले फेसबुकका संस्थापक मार्क जुकरवर्ग, भारतीय धनाड्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, टेस्लाका संस्थापक एलन मस्कससहित विश्वका धनी तथा बिजनेश टाइकुनलाई निम्ता पठाएको थियो । तर, कोही पनि विदेशी हाइप्रोफाइल बिजनेसम्यान सहभागी छैनन् ।

सम्मेलनस्थलमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ । समारोहमा सम्मेलनको प्रतीक चिह्न प्रदर्शनी गरिएको छ भने लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिनुका साथै प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिएका छन् ।

उद्घाटन सत्रकै क्रममा केही महत्त्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्ताक्षर र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति ‘सोकेसिङ’ गर्ने कार्यक्रम छ ।

सम्मेलन स्थलमा प्रधानमन्त्री प्रचण्डसँग आमन्त्रित अतिथिले भेटवार्ता गर्न सक्नेछन् । यसैगरी आजको सत्रको अन्त्यमा प्रत्यक्ष वैदेशिक लगानी र सरकार–निजी साझेदारी परियोजनाको प्रदर्शनी रहनेछ ।

यसैबीच सरकारले स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित ९ ऐनमा संशोधन गर्दै अध्यादेश जारी गरेको छ । देशमा लगानीको वातावरण बनाउने लक्ष्यसहित कानुनमा रहेका बाधा फुकाउने लक्ष्यसहित अध्यादेशमार्फत ऐन संशोधन भएको हो ।

यसअघि २०७५ सालमा आयोजित दोस्रो लगानी सम्मेलनमा ४० देशका ७ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । १७ खर्ब ३० अर्ब रुपैयाँ हाराहारीको प्रतिबद्धता आएको सम्मेलनमा ११ वटा परियोजनामा लगानीका लागि १७ प्रस्ताव आएको थियो । तर दोस्रो लगानी सम्मेलनबाट समेत राज्यले ठुलो उपलब्धि लिन सकेन । योपटक भने ५५ भन्दा बढी देशका लगानीकर्ता उपस्थित रहेको र मागबमोजिम नै ऐनमा पनि संशोधन गरेकाले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन उपलब्धिमुलक हुने विश्वास गरिएको छ ।

Logo