तेस्रो लगानी सम्मेलन सफल की असफल ? यी हुन् सम्मेलनमा भएका सहकार्यसम्बन्धी सम्झौताहरु [भिडियाे]

तेस्रो लगानी सम्मेलन सफल की असफल ? यी हुन् सम्मेलनमा भएका सहकार्यसम्बन्धी सम्झौताहरु [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ सम्पन्न भएको छ ।

झण्डै पाँच वर्षपछि आयोजित लगानी सम्मेलनमा ५५ भन्दा बढी देशका आठ सय बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । निम्ता पठाइएका हाइप्रोफाइल विदेशी लगानीकर्ताको उपस्थिती नरहेपनि यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्ट जिकिर गर्छन् । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।

सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल राखिएका थिए । सम्मेलन अवधिभर कुल १२ वटा सेसनमा छलफलहरू भएका थिए । जसमा विकासे र महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरूले सेसनको अध्यक्षता गरेका थिए । उनीहरूले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र रहेको र अहिले त्यो वातावरण समेत बनेको भन्दै निसंकोच लगानी गर्न आह्वान गरेका थिए ।

लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौताहरु भएका छन् । सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो ।
आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसिया बीच द्विपपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।

लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी पीपीपी प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ ९नाप० बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ । सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी ९जग्गाबाहेक० मा यो परियोजना प्रस्तावित भएको छ ।

सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ ।

मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए)बीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना संचालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

Skip This
Logo