निजी क्षेत्रलाई राजश्वको दबाब नपर्ने, तर ऋण भार बढ्ने गरी बजेट आयोः अध्यक्ष अग्रवाल

निजी क्षेत्रलाई राजश्वको दबाब नपर्ने, तर ऋण भार बढ्ने गरी बजेट आयोः अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निजी क्षेत्रलाई राजश्वको दबाब ठूलो नहुने गरी आएको बताएका छन् ।

केन्द्रबिन्दुसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले आगामी बजेट निजी क्षेत्रलाई राजश्वको दबाब ठूलो नहुने, तर ऋण बढ्ने तरिकाबाट आएको बताएका हुन् । ‘बजेटले निजी क्षेत्रलाई छोटो समयको लागि उत्साहित बनाएको देखियो, किनभने राजश्वको धेरै ठूलो नपर्ने तर ऋणको दबाब बढ्ने गरी आयो,’ उनले भने ।

बजेट निजी क्षेत्रको मनोबल उकास्ने र आर्थिक अवस्थालाई चलायमान गर्नसक्ने तरिकाबाट आएको पनि अध्यक्ष अग्रवालले जानकारी दिए । ‘आगामी आर्थिक वर्षका लागि राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने र सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइन साथै राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ,’ बजेटमा उल्लेख छ ।

वैदेशिक साहयताबाट ठूलो रकम ल्याउँदा त्यसको जोखिम बढ्न सक्ने उनको भनाइ छ । ‘नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ, उक्त आर्थिक वृद्धिदर हासिल गर्नको लागि झण्डै १५ प्रतिशत कर्जा विस्तार हुनु पर्ने देखिन्छ, अहिले कर्जा विस्तारको अवस्था ५ प्रतिशत मात्र छ,’ उनले भने ।

विदेशी ऋणले छोटो समयमा प्रभाव नपारेता पनि आगामी दिनमा त्यसको वित्तिय दायित्व बढ्दै जाने अग्रवालले बताए । वितरणकारी कार्यक्रमलाई न्यूनीकरण गरेर ऋणबाट आउने स्रोतको व्यवस्थापन गरेको भए बजेट अझै राम्राे हुने उनको टिप्पणी छ ।

अग्रवालका अनुसार बजेटका धेरै कार्यक्रमहरू सकारात्मक छन् । ‘हामीले करको दर घटाइनु पर्छ भनेर माग राखेको थियो, त्यस मध्ये केही विषय सम्बोधन भएका पायौं, तर कुन विषयमा करको दर घटाइएको छ त्यो चाहिँ हेर्नु पर्छ,’ उनले भने ।

Logo