आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने, भयाे यस्ताे सहमति

आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने, भयाे यस्ताे सहमति

केन्द्रबिन्दु
210
Shares

आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज गर्ने गरी सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति जुटेको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने सहमति भएपछि आजैबाट पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको हो ।

‘भर्खरै वार्ता सकियो । १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ । सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गछौंं,’ चालक संघका अध्यक्ष ईश्वर लामाले भने ।

चालकहरुले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ । सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् ।

श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् । अधिकांश पम्पमा इन्धन रित्तिएको छ ।

Logo