रुद्राक्ष कारोबारको चहलपहल बढ्दै, यो वर्ष कुन मुखेले कति पाउला मूल्य ?

रुद्राक्ष कारोबारको चहलपहल बढ्दै, यो वर्ष कुन मुखेले कति पाउला मूल्य ?


काठमाडौं । रुद्राक्ष बिक्री भएता पनि मूल्यमा गिरावट आई बजार सुस्ताउँदै जाँदा यसको प्रत्यक्ष असर किसान र व्यापारीले भोग्दै आएका छन् । तर, वर्षेनी खच्किँदै गएको रुद्राक्षको कारोबारबाट यस वर्ष भने राम्रै मूल्य पाउने आशा किसानले लिएका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका, संखुवासभाको खाँदबारी लगायतका रुद्राक्ष उत्पादन हुने जिल्लामा भदाैबाट यसको खरिदबिक्री सुरु हुने गर्छ । चीन, भारत लगायत मुलुकमा निर्यात हुँदै रुद्राक्ष विगत वर्षमा झैं उल्लेखनीय विदेशी व्यापारीहरु नआउँदा मूल्यमा पनि ह्रास आएको स्थानीय व्यापारीहरु बताउँछन् ।

यद्यपि गत वर्ष (२०८०) मा रुद्राक्षको व्यापारले अघिल्ला वर्ष (२०७८/७९) को तुलनामा सन्तोषजनक मूल्य पाएको थियो । रुद्राक्षले यस वर्ष (२०८१) मा पनि पहिलाकै हाराहारीमा मूल्य पाउन सक्ने रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले बताए ।

‘यस वर्ष रुद्राक्षको मूल्यले खासै ठूलो फड्को नमार्ला, गत वर्षकै सो सरह मूल्यमा रुद्राक्ष किनबेच हुन्छ, रुद्राक्षको उचित मूल्यकाे पर्खाइमा किसान भएता पनि यसको उत्पादन बढ्दाे रहेकाले मूल्यमा केही कमी आउँदै गएको हो,’ उनले भने । विदेशी व्यापारीले रुद्राक्षको माग बढी गरे यसको मूल्य बढ्ने चापागाईंले बताए ।

सामान्य मूल्य भएपनि राम्रो पाँचमुखे र मुखदार आकर्षक भए मूल्य उच्च नै पाउने पनि चापागाईंले जानकारी दिए । ‘रुद्राक्षबाट धेरै किसानहरूले राम्रो आम्दानी गर्दै आउनु भएको छ, यसपटक पनि उहाँहरूको आम्दानी रुद्राक्षका कारण वृद्धि हुनेछ भन्ने हाम्रो अपेक्षा हो, रुद्राक्षको बिक्री गर्दा किसान निराश नहुने गरिएको मूल्य पाउने छन्,’ चापागाईंले केन्द्रविन्दुसँग भने ।

रुद्राक्षको आकार, बनावट तथा त्यसको प्रकृति हेरेर किनबेच हुने भएकाले मूल्य यति नै पर्छ भनेर भन्न नसकिने रुद्राक्ष व्यवसायी चन्द्रमणि खत्री बताउँछन् । रुद्राक्षको मूल्य थोरै भए पनि किनबेचमा भने कमी नआउने उनको भनाइ छ । ‘यो वर्ष १० र ११ मुखे १२ देखि १५ सय, १३ मुखेलाई ३ हजार, १४ लाई २५ देखि ३० हजार र १५ मुखेलाई २० देखि २५ हजार रुपैयाँसम्म रुद्राक्षको खरिदबिक्री हुन सक्छ,’ उनले भने । उत्पादन बढी र बजारको रफ्तार सोही अनुसारको नभएकाले रुद्राक्षको मूल्य पनि सामान्य नै रहने खत्रीको बुझाइ छ ।

अधिकांश व्यापारीहरुले पहिला नै रुद्राक्षको बगैँचा ठेक्का लिएर पाँच मुखे दाना राम्रो उत्पादन गर्ने सिलसिलामा औषधिको प्रयोग गरेका छन् भने अहिले पनि बगैँचा व्यवसायीले ठेक्का गर्ने कार्य भइरहेको बताइएको छ । अहिले रुद्राक्षको बगैँचाको ठेक्काको सिजन भए पनि पहिलाको जस्तो ठेक्कापट्टा नभएको खत्रीले जानकारी दिए । उनका अनुसार औषधी प्रयोग गरेका क्लिप लगाएर थेप्चा बनाएका दानाको मूल्य उच्च नै रहने छ ।

‘गत वर्ष ५ मुखे रुद्राक्ष प्रति गोटा ११/१२ सय रुपैयाँका दरले पनि बिक्री भयो, केजीको त्यस्ता दान ५० देखि डेढ लाखसम्म पनि कारोबार भयो, यो वर्ष पनि पाँच मुखे रुद्राक्षमा यो मूल्य कायमै रहने देखिन्छ,’ उनले भने । यस पटक पनि बजारमा ठूला मुखी रुद्राक्ष बजारमा प्रशस्त उपलब्ध हुने व्यवसायी खत्री भएको छ ।

अघिल्लो वर्ष सबैभन्दा बढी १६/१७/१८/१९ मुखे रुद्राक्ष उत्पादन भएको थियो । २१ मुखे रुद्राक्ष भने उक्त वर्ष अनुमानित करिव २०/२१ वटा किनबेच भएको हो । उक्त मुखे रुद्राक्षको कारोबार प्रतिगोटा २० लाखदेखि ५३ लाख रुपैयाँसम्म भएको बताइएको छ । अन्य मुखेको तुलनामा २१ मुखे बढी चर्चित भएसँगै मूल्य पनि महँगो पर्ने गरेको खत्रीले जानकारी दिए ।

यस्तै, रुद्राक्ष व्यापारी प्रयाग गौतमले दानालाई थेप्चो बनाउनको लागि अधिकांशले यस पटक क्लिपको प्रयोग गरेको बताए । उनका अनुसार बिक्ने पाँच मुखे ६० देखि ७० प्रतिशत रुद्राक्षको बोटमा व्यवसायीहरू आफैले क्लिप हानेका छन् । सो क्लिप हानेको पाँच मुखे रुद्राक्ष यस पटक प्रतिकेजी सस्तोमा ७/८ हजार र बढीमा ६०/७० हजार रुपैयाँसम्ममा बिक्री हुने पनि गौतमले जानकारी दिए ।

धार्मिक हिसाबले निकै महत्वपूर्ण मानिने रुद्राक्ष चीन भारत लगायतका मुलुकमा निकै प्रख्यात छ । ‘गत वर्षको जस्तै भन्दा यस वर्ष रुद्राक्षको व्यापार राम्रो हुन्छ, १५ मुखे रुद्राक्ष न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख र १६ मुखे रुद्राक्ष ४० हजारदेखि ३ लाख रुपैयाँसम्म किनबेच हुन्छ,’ उनले भने ।

उनका अनुसार १७ मुखे रुद्राक्षको खरिदबिक्री एक लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्म र १८ मुखेको २ लाख ३० हजारदेखि ९ लाख रुपैयाँसम्म बिक्री भएको छ । यसैगरी १९ मुखे रुद्राक्षको चार लाखदेखि लिएर ११ लाख रुपैयाँसम्म र २० मुखेको ५ लाखदेखि लिएर १३ लाख रुपैयाँसम्म बिक्री हुन सक्ने गौतमले बताए ।

संखुवासभा, भोजपुर जिल्लाका किसानहरूको मुख्य आम्दानीको स्रोत मानिएको रुद्राक्ष षडानन्द नगरपालिकाको नेपाले डाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेन पानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । वर्षेनी उत्पादन हुने रुद्राक्षको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै रहेको अध्यक्ष चापागाईंले बताए । बढ्दो माग र प्रत्यक्ष विदेशी मुद्रा भित्र्याउँदै आएको रुद्राक्ष व्यवसायप्रति सरकारको ध्यान नपुगेको उनको गुनासो छ ।

‘यो विशुद्ध निर्यात हुने वस्तु हो, यसले प्रत्यक्ष अर्बौं रुपैयाँ विदेशी मुद्रा भित्र्याउने गर्छ, तर यसमा सरकारकाे आँखा पुगेको छैन, यसको लागि सरकारलाई घच्घच्याउने प्रयास गरिरहेका छौं, तर सुनुवाइ भने हुन सकेको छैन,’ उनले भने ।

चापागाईंले रुद्राक्ष किसानले कहिल्यै पनि बिक्री नभएर होल्डमा राख्नु नपरेको बताए । उनका अनुसार नेपालबाट गत वर्ष ५ मुखे रुद्राक्ष साढे १५ लाख केजीभन्दा बढी निर्यात भएको छ ।

Logo