टियागो ईभीले दोस्रो पटक बढायो मूल्य: अब सबै भेरियन्टमा १ लाख बढ्यो

टियागो ईभीले दोस्रो पटक बढायो मूल्य: अब सबै भेरियन्टमा १ लाख बढ्यो

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । टाटाको सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार टियागो ईभीले दोस्रो पटक मूल्य बढाएको छ। नेपालका लागि आधिकारिक विक्रेता तिवारक सिप्रदी ट्रेडिङले दोस्रो पटक मूल्य बढाएको हो। यसअघि पनि कम्पनीले चैतमा १ लाख रूपैयाँ बढाएको थियो।

पहिलो पटकको मूल्य वृद्धि प्रारम्भिक प्रवर्द्धन अवधि समाप्त भएको कारण बताइएको थियो। यसपटक नयाँ बजेटमा ल्याइएका उच्च करका कारण मूल्य समायोजन भएको हो। गत वर्ष भदौमा नाडा अटो शोमा लन्च भएको टियागो ईभी सुरुमा सर्ट रेन्जका भेरियन्टमा उपलब्ध हुने चर्चा गरिएको थियो। सर्ट रेन्जको संस्करण २२ लाखमा बिक्री गर्ने प्रचारप्रसार गरेपनि पछि कम्पनीले लङ रेन्जको संस्करण मात्रै बिक्री गर्न सुरू गरेको थियो।

टियागो ईभी लङ रेन्जमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी कुल तीनवटा ट्रिममा उपलब्ध रहँदै आएको र जसको नयाँ मूल्य क्रमशः २७ लाख ४९ हजार, २८ लाख ९९ हजार र २९ लाख ९९ हजार पुगेको हो। बजेटपछि मूल्य समायोजन गरिएपनि हाल स्टकमा रहेका गाडीलाई भने कम्पनीले पुरानै मुल्यमा बिक्री गर्ने कम्पनीले जनाएको छ।

सानो कारमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ४९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको कम्पनीले जनाएको छ। उक्त मोटरले ६६ पिएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ भने ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा २५० किलोमिटर हाराहारी रेन्ज पाउने कम्पनीले जनाएको छ।

Logo