ललितपुर महानगरले कर असुली प्रक्रिया सहज बनाउने 

ललितपुर महानगरले कर असुली प्रक्रिया सहज बनाउने 

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ ।

महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन । यसका लागि महानगरले नगरवासीबाट कर असुलीको प्रक्रियामा डिजिटल प्रणाली उपयोगमा जोड दिने भएको छ ।

त्यस्तै, ‘आयोजना बैंक’ का लागि आयोजना छनोट गर्दै त्रैमासिक समीक्षा गर्ने र उपभोक्ता भेलाबाट पास गर्ने समेत नीति लिएको जानकारी उनले गराइन । 

त्यसैगरी, महानरपालिकाले भ्रष्टाचारमा शून्य सहनशीलता अनुसरण गर्दै कर्मचारी संयन्त्रलाई अझ प्रभावकारी बनाउन स्थानीय सेवा व्यवस्थापन ऐन जारी गर्ने भएको छ ।

महानगरपालिकाले खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन विद्युतीय बोलपत्र प्रयोगमा ल्याउने, महानगरभित्र हुने विवादहरुको समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने, महानगरका उपयुक्त स्थानमा फ्री वाइफाइ जोन स्थापना गर्ने, शैक्षिक सत्र २०८० को परीक्षाको नतिजालाई आधार वर्ष मानी लक्ष्यमा आधारित सिकाई सुधा।र गर्दै लैजाने नीति अवलम्बन गर्ने भएको छ ।

नगरका सबै सडकहरुको जिम्मेवारी स्रोतसाधनसहित आफूलाई हस्तान्तरणका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने पनि महानगरपालिकाले जनाएको छ । नगरभित्रका सडकहरुमा अपांगतामैत्री पैदलयात्री मार्गसहितको संरचना निर्माणलाई निरन्तरता दिने भएको छ ।

Logo