असार १५ मा सरकारको चर्तिकलाः हली बने प्रधानमन्त्री, बाउसे राष्ट्रपति [भिडियाे]

असार १५ मा सरकारको चर्तिकलाः हली बने प्रधानमन्त्री, बाउसे राष्ट्रपति [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । ‘मानो रोपेर मुरी फलाउने’ भन्दै कृषकहरु धान रोप्न व्यस्त देखिन्छन् । किसानलाई धान रोप्ने चटारो स्वाभाविक पनि हो । तर, पछिल्ला केही वर्षमा धान दिवसका नाममा ठूला नेताहरु नै कृषकका खेतमा पुगेर धान रोपेकोजस्तो देखिन्छ ।

सकारात्मक रुपमा सोच्ने हो भने नेताहरुले कृषकका खेतमा कार्यकर्तासहित पुगी धान रोप्दा कृषकलाई हौसला प्रदान पनि गरेको छ । तर, बर्सेनि मलको हाहाकार र त्योसँगै अर्बौंको धान आयात हुने आँकडा हेर्दा नेताहरु खेतमा पुगेर धान रोप्ने दृश्यले कृषकलाई गिज्याए जस्तो भान हुन्छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको पछाडि भागको खाली जग्गामा बाउसे गरेका छन् । राष्ट्रपति कार्यालयको पछाडिको करेसामा नेपाली सेनाका जवानहरुले खनेर र पानी हालेर ठिक्क पारेको जमिनमा राष्ट्रपति पौडेलले कोदाली समातेर बाउसे गरेका हुन् । त्यहाँ उनले सकिनसकी कोदाली लिएर बाउसे गरेको देख्न सकिन्छ । जबकि राष्ट्रपति पौडेललाई बाहिर फेर हिँड्न पनि अरूको सहायता चाहिन्छ ।

प्रथम महिला तथा उनकी श्रीमती सबिताले बायाँ हातमा रोपोको मुठो समातेर दायाँ हातले साडीलाई हिलो लाग्नबाट जोगाउँदै धान रोपेकी छन् । उनीहरुले सैनिक सुरक्षा घेरामा असार १५ का दिन रोपाईं गरेर धान दिवस मनाएका हुन् । रोपाईंपछि शीतल निवासको पूर्वतिरको आँगनमा दही चिउरा कार्यक्रम राखिएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको बताए । पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान कम भएर बाहिरबाट आयात गर्न थालिएपछि खाना असन्तुलित बनेको र अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको उनको भनाई थियो ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा ट्याक्टर चलाएर हलीको अवतारमा देखिए । उनले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेशिनको प्रयोग गरी धान रोपेका हुन् ।

सो क्रममा जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको पनि उनले भन्न भ्याए । नेपालको प्रमुख खाद्यान्न बाली धान भएको उनको भनाई थियो । रोपाइंमा उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।

धान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रम विवादमुक्त बनेका छैनन् । कहिले मन्त्रीले महिला किसानलाई दुर्व्यवहार गर्ने त कहिले मन्त्रीले गमलामा धान रोप्ने खालका भद्दा क्रियाकलाप रोकिएका छैनन् । सरकारकै नेतृत्वमा पुगेर पनि कृषकका समस्या समाधान गर्न नसकेका केही उच्चपदस्थ नेताहरुले समेत कार्यकर्ताको लहडमा लागेर धान दिवसका नाममा गरेका गतिविधि आफैँमा अपाच्य देखिन थालेको छ । धान रोपाइँमा यसपटक पनि त्यस्तै केही भद्दा र उच्छृंखल हर्कत देखिए । धान रोप्ने खेतलाई ‘ग्ल्यामर’ अवतार देखाउने मञ्च बनाइएको फोटो सञ्जालमा देखिन थालेको छ ।

नेपालमा अझै पनि यस्ता धेरै जमिन छन्, जहाँ सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भरमा बाली उब्जनी गर्नुपर्ने अवस्था छ । पानी, बिउ, मल, कृषि औजार र रोपार एउटै थलोमा राखेर कृषि मन्त्रीले धान रोप्दाको अवस्था र मलसँगै बिउविजन र सिँचाइको सुविधाबाट वञ्चित कृषकहरुसँग तुलना गर्दा सरकारले मनाउँदै आएको धान दिवस कार्यक्रमले सरकारलाई नै गिज्याइरहेको त छैन भन्ने प्रश्न खडा हुन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ । सिचाईंको सुविधा छैन । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

नेपालको अन्न बालीमा सबैभन्दा धेरै योगदान दिने क्षेत्र पनि धानबाली नै हो । तर, मूल बालीकै रुपमा रहेको धानको देशभित्र हुने उत्पादनले नेपालीलाई खान भने पुग्दैन । सरकारी तथ्यांक अनुसार नै हेर्दा पनि नेपालीलाई ५ लाख ८१ हजार ५ सय ५ मेट्रिक टन चामल प्रतिवर्ष अपुग हुने देखिएको छ । प्रतिव्यक्ति हिसाब गरेर हेर्दा नेपालको जनसंख्यालाई एक वर्षमा ६२ लाख ८८ हजार ६ सय ६० मेट्रिक टन धान आवश्यक पर्छ । तर, नेपालको कुल धान उत्पादन प्रतिवर्ष ५७ लाख ७ हजार एक सय ५५ मेट्रिक टन रहेको छ । यो उत्पादन र आवश्यकताको हिसाब गर्दा पौने ६ लाख मेट्रिक टन भन्दा बढी चमलको अपुग रहेको हो । अहिले देशभरमा १४ लाख ३४ हजार ७ सय ९७ हेक्टरमा धान खेती हुँदै आएको छ । बाँझो जमिनमा खेती विस्तार गर्न सरकारका सम्बन्धित मन्त्रीहरुले हरेकजसो भाषणमा छुटाउँदैनन्, तर कार्यान्वयन भने नगन्य जस्तै छ ।

Logo