कृषि कर्जाको अनुदान दुरुपयोग नभएको गभर्नर अधिकारीको स्पष्टोक्ती

कृषि कर्जाको अनुदान दुरुपयोग नभएको गभर्नर अधिकारीको स्पष्टोक्ती

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट गरेका छन् ।

आज आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरुपयोग नदेखिएको बताएका हुन् । केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुल प्रक्रिया पनि प्रारम्भ भइसकेको उनले बताए ।

“कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन् । यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ”, गभर्नर अधिकारीले भने, “हाम्रो अध्ययनका क्रममा निकै सानो सङ्ख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ । यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ ।”

सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेर कार्यविधिअनुसार नै अनुदान उपलब्ध गराइएको गभर्नर अधिकारीले दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उनले बताए । यो कार्यक्रम विवादमा परेपछि विसं २०७९ असोजयता अनुदान नदिइएको उनले स्पष्ट पारे ।

उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थाले पनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ ।

विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।

राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदानको दुरुपयोग भएको धारणा राखेका थिए । नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएकाले उनीहरुले लगानी गर्न नचाहेको उनले बताए ।

साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । “यस लघुवित्तले साना किसान कृषि सहकारीमार्फत कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गरी आन्तरिक उत्पादनमा योगदान पुगेको छ”, उनले भने ।

Logo