खानेपानी महसुल नै तिर्दैनन् सरकारी कार्यालय

खानेपानी महसुल नै तिर्दैनन् सरकारी कार्यालय

केन्द्रबिन्दु
28
Shares

पर्सा । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०-८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।

सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ ।

बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम कायमै छ ।

कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । “सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छ”, उनले भने, “निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा छ ।”

कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता एक करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता एक करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार चार सय १७ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए ।

कार्यालयका अनुसार आव २०८०-८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

Logo