दूध बेचेर मासिक लाख आम्दानी गर्दै दाङका घर्ती

दूध बेचेर मासिक लाख आम्दानी गर्दै दाङका घर्ती

केन्द्रबिन्दु
56
Shares

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिक रूपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।

मेहनत गर्नसके आफ्नै ठाउँमा पशुपालनबाट पनि राम्रो आम्दानी लिन सकिने भन्दै गोरखा बायो फार्मका अध्यक्ष रहेका घर्तीले भने, “व्यवसाय नगरेको भए अहिले खाली बस्नुपर्थ्यो । तर व्यावसायिक रूपमा भैँसी तथा बङ्गुरपालन गरेपछि राम्रै आम्दानी भइरहेको छ ।” उनले रोजगारीका लागि दिनहुँ युवा जनशक्ति विदेशिएको समयमा पशुपालनबाट राम्रै आम्दानी भइरहेको बताए ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक पशुपालन गर्दै आएका घर्तीले दूध बिक्री गरेर मासिक एक लाखबढी आम्दानी भइरहेको बताए । उनका अनुसार फार्ममा साना ठूला गरेर अहिले १८ वटा भैँसी, २५ वटा बङ्गुर, हाँसलगायत रहेका छन् । १८ वटा भैँसीमध्ये चार वटा भैँसीले दूध दिने र त्यहीबाट महिनामा एक लाख बढी कमाई गर्दै आएको घर्ती बताउँछन् ।

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै उनले भने, “उत्पादन गरेको दूध बिक्रीमा समस्या छैन । फार्मबाटै स्कुल तथा डेरीमा जाने गरेको छ ।” दैनिक अहिले दैनिक ४५÷५० लिटरसम्म दूध बिक्री भइरहेको भन्दै उनले फार्ममा कम्तीमा ४० वटा भैँसी र केही जर्सी गाईसमेत थप गर्ने योजनामा रहेको बताए ।

बजारको मागसँगै प्रशस्त मात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिइएको घर्ती बताउँछन् । उनका अनुसार दूध ७० रुपैयाँ लिटर बिक्री हुने गर्दछ । दूध उत्पादनका लागि भैँसीसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन् । त्यसका लागि थप संरचना निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछन् ।

अहिले दूध उत्पादनसँगै मासु उत्पादनका लागि बाख्रा र बङ्गुरपालनलाई बढाउने उद्देश्य रहेको भन्दै सञ्चालक चौधरीले भने, “अहिलेको संरचनालाई बढाउने र त्यसैमा थप भैँसी र बाख्रापालन गर्ने उद्देश्य रहेको छ ।”

व्यावसायिक रूपमा दूध, मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब डेढ करोडसम्म लगानी भइसकेको छ । उनीहरूले कृषि फार्ममा तीन जनालाई रोजगारी दिएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका व्यावसायिक घाँसखेती गरिएको उनी बताउँछन्। उनीहरू जस्तै जिल्लामा पछिल्लो समय पशुपालन व्यवसायमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै जान थालेको छ ।

Logo