बचतकर्तालाई वाणिज्य बैंकहरूले दिए ४ खर्ब ब्याज, कुन बैंकले कति दिए ?

बचतकर्तालाई वाणिज्य बैंकहरूले दिए ४ खर्ब ब्याज, कुन बैंकले कति दिए ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपालमा रहेका २० वटा वाणिज्य बैंकहरूले पछिल्लो एक वर्षमा आफ्ना बचतकर्ताहरूलाई झण्डै ४ खर्ब रुपैयाँ ब्याज भुक्तानी गरेका छन् । बैंकहरूले गत आर्थिक वर्ष २०८०–८१ मा कूल ३ खर्ब ९६ अर्ब ६३ करोड ९८ लाख ८२ हजार रुपैयाँ ब्याज भुक्तानी गरेका हुन् । वाणिज्य बैंकहरूले बचत तथा निक्षेपकर्तालाई यो रकम भुक्तानी गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकहरूले ३ खर्ब ६५ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले गरेको ब्याज भुक्तानीको रकम ८.५४ प्रतिशतले बढी देखिएको हो ।

बैंकहरूको सार्वजनिक वित्तीय विवरणअनुसार गत वर्षको असारसमान्तसम्म बैंकहरूमा ५६ खर्ब ६५ अर्ब ४८ करोड ११ लाख रुपैयाँ निक्षेप रहेको देखिन्छ । यस अवधिमा बैंकहरूले ऋण प्रवाह गरेर ब्याजबापत ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

गत आर्थिक वर्ष २०८०–८१ मा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ३४ अर्ब ८२ करोड ३६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ । ग्लोबल आईएमईपछि नबिल बैंकले ३० अर्ब ९ करोड ६१ लाख ११ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २८ अर्ब ४ करोड ८४ लाख ८६ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

यसैगरी एनआईसी एसिया बैंकले २७ अर्ब ७५ करोड ७८ लाख ४७ हजार, कुमारी बैंकले २७ अर्ब ६९ करोड ५४ लाख ८० हजार र हिमालयन बैंकले २३ अर्ब ९५ करोड ८० लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले २३ अर्ब ४५ करोड ३० लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ भने प्रभु बैंकले २० अर्ब १ करोड १२ लाख ८५ हजार र राष्ट्रिय वाणिज्य बैंकले १९ अर्ब ७१ करोड ३५ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै, एनएमबीले १८ अर्ब ३३ करोड ७ लाख ९१ हजार, प्राइम कर्मसियल बैंकले १७ अर्ब ८४ करोड १२ लाख ८१ हजार, सिद्धार्थले १७ अर्ब ७५ करोड १२ लाख ५७ हजार, कृषि विकासले १७ अर्ब १ करोड ७६ लाख ६९ हजार र नेपाल बैंकले १६ अर्ब ४५ करोड ८ लाख ५० हजार रुपैयाँ ब्याजबापत भुक्तानी गरेका छन् ।

एभरेष्टले १४ अर्ब ७९ करोड ४३ लाख ६७ हजार, सानिमाले १४ अर्ब ५४ करोड २३ लाख ६८ हजार, सिटिजन्सले १३ अर्ब ९९ करोड ५८ लाख ४६ हजार, नेपाल एसबीआईले १२ अर्ब ८२ करोड १५ लाख ७४ हजार, माछापुच्छ्रेले ११ अर्ब ६१ करोड ५ लाख १ हजार र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ अर्ब ९२ करोड ५८ लाख ३० हजार रुपैयाँ ब्याज खर्च गरेका हुन् ।

Logo