कजारिया रमेश टायल्सको अत्याधुनिक कारखाना उद्घाटन

कजारिया रमेश टायल्सको अत्याधुनिक कारखाना उद्घाटन

केन्द्रबिन्दु
420
Shares

भैरहवा । कजारिया रमेश टायल्स लिमिटेडले नयाँ अत्याधुनिक कारखानाको उद्घाटन गरेको छ । कम्पनीले किल्न लाइट अप (भट्टी प्रज्वलन) को उद्घाटन गरेको हो । उक्त नयाँ भट्टीको बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

नयाँ अत्याधुनिक कारखानाको उद्घाटन भएसँगै नेपालबाट कजारिया रमेश टायल्सले उत्पादनका निम्ति महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको मागअनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ । साथै उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुने बताइएको छ । नेपालमा उच्च गुणस्तरका टायलको माग र पूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने कम्पनीले अपेक्षा गरेको छ ।

‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौँ ।’ कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने, ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ।’

कजारिया रमेश टायल्स लिमिटेड रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्यमार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्त्वाकांक्षा लिएको छ । नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ ।

कारखाना निर्माणका लागि गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिनेछ भने विश्वस्तरीय कजारिया टायलहरू सस्तो मूल्यमा उपलब्ध गराउनेछ । कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौँ रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । कजारिया रमेश टायल्स लिमिटेडले स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउँदै वृद्धि र विकासलाई प्रवर्द्धन पनि गर्नेछ ।

Logo