आईएमई भनेको पैसा पठाउने कामकै पर्याय बनेको छः अध्यक्ष ढकाल

आईएमई भनेको पैसा पठाउने कामकै पर्याय बनेको छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समयमा आईएमई भनेको पैसा पठाउने कामकै पर्याय बनेको बताएका छन् । आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले आईएमईको सुरुवाती अवस्थाको स्मरण गर्दै नेपालको अग्रणी रेमिटेन्स कम्पनी बनेको आईएमई अहिले विश्वका कुना-कुनाका जोकोहीको पहिलो रोजाइ बन्न पुगेको बताए । उनले भने, ‘आईएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आईएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला ?’

सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आईएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन ।

अध्यक्ष ढकालले आफू जापान बस्दा आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस तथा अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेपछि छिटो र भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म हुन पुगेको स्मरण गरे ।

‘हामीले आईएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन ।’ उनले भने, ‘सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो ।’ निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा सुरुवातका केही वर्षमै आईएमईले पुष्टि गरिसकेको अध्यक्ष ढकालको भनाइ छ ।

उनले अगाडि भने, ‘मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो, आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्त्व छ ।’

एक करोड चुक्ता पुँजीको आईएमई अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जनबढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत्, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् ।

आईएमई सुरुवातको समयमा करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीका रूपमा आईएमईको योगदान छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि बैंक तथा वित्तीय संस्थाको रहेको छ ।

उनले भने, ‘हामीले आईएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ ।’ अहिले आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र,आईएमई लिमिटेडका प्रबन्ध निर्देशक, संयुक्त कारोबार पश्चात्का अध्यक्ष हेमराज ढकाल, जीएमई लिमिटेडका अध्यक्षलगायत उपस्थित छन् । आईएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ ।

Logo