निजी क्षेत्रमैत्री लगानीको वातावरण बनाउन सांसदहरूको प्रतिबद्धता

निजी क्षेत्रमैत्री लगानीको वातावरण बनाउन सांसदहरूको प्रतिबद्धता

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूले निजी क्षेत्रमैत्री नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उपस्थित एकसयभन्दा बढी सांसदहरूले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहेको बताए । साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए ।

निरन्तर निजी क्षेत्रसँग संवाद गरी उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको अर्थमन्त्री पौडेलले जानकारी दिए । उनका अनुसार सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको छ ।

अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने बताए । साथै सरकारले बनाउने कुनै पनि कानुन एकोहोरो ढंगले लग्ने क्रममा नरहेको पनि उनले बताए ।

महासंघले संसद्मा विचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रूपमा उद्यमी व्ययवासीका सुझाव प्रस्तुत गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारको बताए । ‘आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरूको दर्ता हुने क्रम बढेको छ, पहिले निजी क्षेत्र बजेटमा सुझाव दिने मात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको छ,’ उनले भने ।

ऊर्जामन्त्री दीपक खड्काले संसद्मा विचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको बताए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारण लाइन लगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको पनि जानकारी दिए ।

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तीय संस्था सम्बन्धी लगायतका कानुनमा छलफल भइरहेको बताउँदै यसमा बृहत् छलफल गरी निर्णय गरिने बताए । यस्तै, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्बाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी सामाजिक न्याय सहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आफ्नो पार्टी सधैँ तयार रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले परम्परागत रूपमै उद्यमी व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्ने उनले जोड दिए ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वातावरण बनाउन सबैको ध्यानाकर्षण गराए । ‘निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखि नै सकिएको छ, कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न हुँदैन,’ उनले भने । यसै गरी लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन नबनोस् भनेर कार्यक्रम आयोजना गरी सुधारको पहल थाल्नु पर्ने उनको भनाइ छ ।

Logo