पर्सामा २ हजार २ सय ९१ क्युफिट अवैध काठ बरामद

पर्सामा २ हजार २ सय ९१ क्युफिट अवैध काठ बरामद

केन्द्रबिन्दु
70
Shares

पर्सा । डिभिजन वन कार्यालय पर्साले अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९-८० देखि २०८०-८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट २ हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए । ‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौँ,’’ उनले भने ।

कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ । डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालयले आव २०७९-८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए । त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो ।

आव २०८०-८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ । कार्यालय प्रमुख कर्णले चालू आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फर्स्योट गर्ने बताए । उनले भने, ‘‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फर्स्योटले गति लिनेछ ।’’

Logo