भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने, कहाँ पुग्यो बंगलादेश निर्यातको कुरा ?

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने, कहाँ पुग्यो बंगलादेश निर्यातको कुरा ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले आयातको प्रस्ताव स्वीकृत गरेको छ ।

काठमाडौँस्थित भारतीय दूतावासले भारतले बिहार राज्यमा प्रयोग हुने गरी थप विद्युत लैजान स्वीकृत प्रदान गरेको जनाएको छ । बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५) भारु रहेको छ । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको एक सय नौ मेगावाटको प्रतियुनिट दर आठ रुपैयाँ ४० पैसा (५.२५) भारु रहेको थियो । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्दैन ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । सन् २०२१ को अक्टोबरमा पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि भारतले अनुमति दिएको थियो । नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विद्युत् बिक्री गरी पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । हाल नेपालले भारतका रियल टाइम मार्केटमा समेत पहुँच विस्तार गरेको छ । त्यसपछि यो आँकडा निरन्तर बढिरहेको प्राधिकरणको तथ्यांक छ ।

यसअघि भारतले १६ वटा परियोजनाबाट ६९० मेगावाट विद्युत् खरिदको स्वीकृति दिएको थियो । हाल त्यसमा थप २५१ गरी कूल २८ वटा परियोजनाबाट ९४१ मेगावाट विद्युत् खरिद गर्ने भएको जनाइएको छ ।


कुन आयोजनाबाट कति बिजुली निर्यात गरिँदै छ ?
११.६४ मेगावाटको दोर्दी
११४.४५ मेगावाटको मायाखोला
९.९९ मेगावाटको डाउन पिलुवा
१०.६७ मेगावाटका तल्लो खारे
११.६४ मेगावाटको माथिल्लो खिम्ती
६.८ मेगावाटको माथिल्लो खिम्ती–२
१४.४ मेगावाटको मोदी
१४.६ मेगावाटको गण्डक
१९.२१ मेगावाटको माथिल्लो सोलु
११.६४ मेगावाटको दुधकुण्ड जलविद्युत् आयोजना
बाट उत्पादित जम्मा एक सय २५ मेगावाट विद्युत् विहारमा निर्यात गर्ने योजना छ । ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ ।

बंगलादेशमा विद्युत् निर्यातका लागि गत साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो । बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने तयारी भए पनि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हस्ताक्षर स्थगन भएको छ । प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेर नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अघि बढेको छ । नेपालले हिउँदयाममा भारतबाट विद्युत् आयात गर्छ । आव २०७९-८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रूपैयाँको विद्युत् आयात भएकामा १० अर्ब ४५ करोड ५० लाख रूपैयाँको निर्यात गरिएको थियो ।

Logo