उद्योग वाणिज्य महासङ्घद्वारा धितोपत्र बोर्डको सञ्चालक सदस्यमा अवस्थीलाई सिफारिस

उद्योग वाणिज्य महासङ्घद्वारा धितोपत्र बोर्डको सञ्चालक सदस्यमा अवस्थीलाई सिफारिस

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकका रूपमा कार्यरत अवस्थीलाई महासंघले सिफारिस गरेको हो ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका अवस्थी काठमाडौँ विश्वविद्यालयबाट राजनीति अर्थशास्त्रमा विद्यावारिधि गर्दै छन् । उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । महासंघमा कार्यभार सम्हाल्नुअघि अवस्थी नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए । करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशकभन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पनि हुन् । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द इयर २०२३ प्राप्त गरेका छन् ।

धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो । तर सरकारले नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई नराख्ने प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘धितोपत्र ऐन (पहिलो संशोधन विधेयक २०८१) मा यससम्बन्धी व्यवस्था छ ।

Logo