ढुक्क भएर ईभी चढ्ने वातावरण बनिसक्यो, दुविधामा पर्ने अवस्था छैनः राजनबाबु श्रेष्ठ [भिडियाेसहित]

ढुक्क भएर ईभी चढ्ने वातावरण बनिसक्यो, दुविधामा पर्ने अवस्था छैनः राजनबाबु श्रेष्ठ [भिडियाेसहित]

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । नेपाली अटो बजार विगत केही वर्षदेखि निकै उतारचढावपूर्ण अवस्थामा छ । ईभीको व्यापार बढ्दा गएपनि कमर्शियल र आईसीई भेहिकलको भने बिक्री दरमा खासै वृद्धि हुन सकेको छैन । सरकारबाट अटो क्षेत्रको स्थायित्व नीति नियमको पर्खाइमा बसेका व्यवसायी ईभीको पूर्वाधार विकासमा लगानी बढाउने मागसमेत राख्दै आएका छन् । सरकारले सोही अनुरूप ईभीमा पूर्वाधारको विकास र प्राथमिकता दिँदै जाँदा आज ईभी चढ्नेको बाहुल्यता बढ्दो छ । यद्यपि सरकारले यस क्षेत्रमा गर्नुपर्न कार्य के–के छन्, अटो क्षेत्रमा देखिएका समस्या के हुन्, नाडाले आयोजना गर्न लागेको अटो शोमा कस्ता सवारीको सहभागिता हुँदै छन् लगायतका विषयमा नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश-

नेपाली अटोमोबाइल्स बजार सकसपूर्ण अवस्था रहेको बताइन्छ । खासमा यसकाे व्यवसाय कुन दिशामा अगाडि बढिरहेको छ ?

-अटो व्यवसायमा विभिन्न खण्ड छन् । जसमध्ये सिप्रदीले टाटाका कमर्शियल र प्यासेन्जर भेहिकलको बिक्री गर्दै आएका छौं । अहिलेको अवस्थामा कमर्शियल भेहिकलको अवस्था भयावह छ । विगत केही वर्षदेखि विकास निर्माणमा आएका शिथिलता र निर्माण कार्य सुस्ताउँदा कमर्शियल भेहिकलको माग घटेको देखिन्छ । प्रत्यक्ष भन्ने हो भने विकासका काम नहुँदाको असर कमर्शियल भेहिकलमा पनि पर्यो । पहिलाको तुलनामा कमर्शियल भेहिकलको बिक्री दर ७० प्रतिशतले घटेको छ ।

कमर्शियल भेहिकल बिक्री गर्नेहरूलाई कसरी सर्भाइभ हुने भनेर चिन्ता बढी रहेको छ । यसमा लगानी धेरै छ । जुन बेलामा धेरै गाडी बिक्री गरिन्थ्यो त्यो बेला देखिको संरचनाका साथै म्यानपावर र सोही अनुसारको इको सिस्टम बनिसकेका छन् । त्यसलाई अगाडि बढाउन अहिले हम्मेहम्मे परेकाे अवस्था हो ।

किनभने यसमा गरिएको लगानी घटिरहेको छ । कमर्शियल भेहिकल बिक्री गर्ने अहिले धेरै कम्पन घाटामा छन् । सरकारले ईभी मैत्री नीति लिएको हुँदा यस गाडी प्रतिको आकर्षण राम्रो छ । जसले गर्दा ईभीको माग बजारमा बढी रहेको छ । यद्यपि आईसीई भेहिकलमा ठूलो समस्या परिरहेको छ । यसको बिक्री तुलनात्मक रूपमा घटेको छ । समग्रमा भन्ने हो भने अटो उद्योगको अवस्था ईभीमावाहेक राम्रो छैन ।

नेपालका अहिले अधिकांश अटो व्यवसायीको मुखबाट सुनिन्छ अटो व्यवसायको बिजनेश डाउन भयो । के साँच्चै नेपाली अटो बजार खुम्चिँदै गएको हो ?

-अटो बजार खुम्चिएको छैन । अहिलेको अवस्थाका कारण बजार सानो हुँदै गएको हो । नेपालको जनसंख्यालाई आधार मानेर कति नेपालीले सवारी प्रयोग गर्छन् भनेर तथ्याङक हेर्ने हो भने त्यो एकदमै न्यून छ । अहिले जति गाडी बिक्री भइरहेको छ । त्यसको २/३ गुणा बढी गाडी बिक्री हुँदा पनि धेरै गाडी बिक्री भए भनेर भन्न सकिँदैन । किनभने अहिले गाडी मान्छेको अति आवश्यक वस्तुभित्र परिसकेको छ । यो उद्योगलाई कसरी फराकिलो बनाउने, नेपालमा गाडीको आवश्यकता बुझि उक्त गाडी कसरी ल्याउने भनेर सोचौं ।

जति विकासको काम हुँदै गयो त्यति कमर्शियल भेहिकलको बिक्री बढ्ने हो । विकासका कार्य बढाउँदै गयौं भने यसको माग बढ्छ । प्यासेन्जर गाडी लक्जरी हैन । यो अबको जरुरत हो । यो जरुरतलाई बुझेर सरकारले पनि नीति नियममा सुधार गर्नुपर्याे । मान्छेसँग एउटा घर गाडी भयो भने उ मोटिभेट पनि हुन्छ । सबै जनताको पहुँचमा गाडी पुर्याउन सक्यो भने त्यसले प्रडक्टिभिटी पनि बढाउँछ ।

नेपालको जनसंख्यालाई आधार मानेर कति नेपालीले सवारी प्रयोग गर्छन् भनेर तथ्याङक हेर्ने हो भने त्यो एकदमै न्यून छ ।

तपाईंले भन्नुभयो गाडी मान्छेको अबको जरुरत हो भनेर । तर, सरकार यो क्षेत्रले पुर्याएको योगदान किन बुझ्न सक्दैन ?

-कुन र कस्ता क्षेत्रलाई पहिलो प्राथमिकताका दिएर काम गर्ने त्यसको योजना सरकारसँग होला । नेपालको आयातमा आधारित अर्थतन्त्र छ । वस्तु तथा सेवाको आयातबाट सरकारले सबैभन्दा बढी राजश्व संकलन हुन्छ । आन्तरिक राजश्व सङ्कलनका विषय छँदैछन् । सरकारले उठाउने राजश्वमा अटो व्यवसायले पनि ठूलो योगदान पुर्याएको छ । यसअघि सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध साथै फाइनान्समा समस्या हुँदा गाडीको बिक्री घट्दै गयो ।

त्यसको असर अहिलेसम्म सरकारको राजश्वमा देखिरहेको छ । यो क्षेत्रलाई सहज गरिदिए अझ यो क्षेत्रको व्यवसाय फस्टाउँदै जान्छ भन्ने व्यवसायीहरूको धारणा हो । अटो व्यवसायको लागि सरकारले केही गरेको छैन भन्न मिल्दैन । निश्चित ठाउँमा सुविधाहरू दिइरहेको छ । सरकारले ईभीमा राम्रो नै नीति ल्याएको छ । यसको प्रोत्साहनमा सरकार आफैले गर्दा ईभी गाडीको बजार अहिलेको अवस्थामा सन्तोषजनक छ ।

यद्यपी आईसीई भेहिकलको बिक्री घटी राखेको अवस्थाले चाहिँ ठूलो चुनौती थपेको छ । यसको अवस्था साथै अटो क्षेत्रमा देखिएका समस्यालाई लिएर नाडाको माध्यमबाट सम्बन्धित निकायमा पुगीरहेका छौं । आईसीई भेहिकलको सवालमा सरकारले अलिकति कन्जुसयाई गरेको हो कि जस्तो मलाई लाग्छ ।

नेपालमा अटोको भविष्य राम्रो बनाउनेको लागि सरकारले कस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्न जरुरी छ ?

-मान्छेमा ईभीप्रति जुन खालको कन्फिडेन्स आइरहेको छ । त्यसलाई निरन्तरता दिनुपर्याे । सरकारले अटोको बारेमा रोड म्याप बनाउनुपर्याे । नेपालमा ईभी भेहिकलको प्रमोशन कसरी भनेर पनि सोच्नुपर्यो । अटोसम्बन्धी दीर्घकालीन नीति बनायो भने उपयुक्त हुने देखिन्छ । आयातकर्ताले गाडी ल्याउँदा यो गाडी यस्तो मापदण्डको हुनुपर्याे, यस्तो वर्कशप, चार्जिङ स्टेशनलगायतका पूर्वाधार तयार गरेपछि मात्र गाडी ल्याउनु पर्छ भन्ने विषयमा पनि उक्त नीतिमा समेट्नु पर्छ ।

केही समय अघि बजारमा ठूलो संख्यामा दुई पाङग्रे ईभी स्कुटर आयात भएर आए । २/४ वटा कम्पनीका वाहेक अन्य यति खराब स्कुटर आएकी सो स्कुटरले काठमाडौंमा पनि राम्रोसँग पर्फर्मेन्स गर्न सकेनन् । त्यसले गर्दा मान्छेमा दुईपाङग्रे सवारी कमै लाग्दैन भनेर छाप पर्यो ।

र, अहिले पनि दुई पाङग्रे ईभी स्कुटरले अझै पनि राम्रोसँग पिकअप गर्न सकिरहेको छैन । बजारमा राम्रो पर्फर्मेन्स गर्न सक्ने क्षमता पनि स्कुटर छन् । तर, मूल्य भनेर उच्च छ । नेपालमा अटोका सबै विषयलाई समेट्ने नीति बनाउन जरुरी छ । नीति भएपछि अटो क्षेत्र स्थिर हुन्छ । गाडी आयात मात्र गरिराख्ने तर, त्यसको स्ट्यान्डर्ड भएन भने भोलिका दिनमा समस्या हुन सक्छ ।

ईभीको बिक्री बढी राख्दा समेत व्यवसायीहरू सन्तोषजनक देखिँदैन नि किन ?

-केही वर्ष अघिसम्म मान्छेले ईभीलाई पहिलो गाडीको रूपमा लिँदैनथे । बिस्तारै मान्छेले ईभीलाई सकारात्मक तरिकाले लिएर पहिलेका कारको रूपमा लिन थालिसकेका छन् । आईसीईभन्दा ईभी नै लिऔं भनेर मान्छेको सोच बनिसकेको छ । त्यसले गर्दा ईभीको माग बढ्दै गइरहेको छ । त्यो गाडीको आयात र बिक्रीको तथ्याङ्कले पनि देखाउँछ । त्यो आधारमा ईभी व्यवसायी खुसी छैनन् भने जस्तो मलाई लाग्दैन ।

नेपालमा ढुक्क भएर ईभी प्रयोग गर्ने अवस्था बनिसकेको हो ?

-नेपालमा अब ईभी ढुक्क भएर प्रयोग गर्न सकिन्छ । कमर्शियलमा चाहिँ त्यो अवस्था बनिसकेको छैन । यसको चार्जिङ स्टेशन, ब्याट्री साथै अन्य विषयलाई लिएर केही समस्या देखिन्छ । ईभीका गाडी अर्थात् कारका प्रयोगकर्ता अधिकांशले घरमै चार्ज गर्नुहुन्छ । उक्त कार उहाँहरूले कुदाऊँ भने भनेको दिनमा अधिकतम ४०/५० किलोमिटर हो । काठमाडौंमा चलाउँदा उक्त गाडीलाई फास्ट चार्जरबाट चार्ज गर्नु पर्दैन ।

अहिले ग्रामीण भेगमा चार्जिङको समस्या छ । अधिकांश ईभी गाडीका बिक्रेताहरूले मेन्टिनेन्स सेन्टर बनाइ सक्नुभएको छ । वर्कशपहरू भएकाले ईभीको मर्मत गर्न पनि समस्या भएन । सिप्रदी आफैले मेन्टिनेन्स सेन्टरको खडा गरेर काम गरिरहेकाे छ । अहिलेको अवस्थामा कुनै समस्या छैन । त्यसैले ईभी कार ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।

तर, कमर्शियल भेहिकलमा हामी आफै कन्भिन्स भएका छैनौं । यसकाे मूल्य महँगो छ । यस्तो गाडी दिनकै २/४ सय किलोमिटर न्यूनतम कुद्छ । त्यसैले त्यसको फास्ट चार्जर धेरै चाहियो । उक्त चार्जरहरु यहाँ बनिसकेको छैन । गाडी जति कुदायो ब्याट्री क्षमता सोही अनुसार घट्दै जान्छ । निश्चित समयपछि त्यो ब्याट्री काम लाग्दैन ।

त्यो परिवर्तन गर्दा ठूलो खर्च आउने अनुमान मैले गरेको छु । ब्याट्री परिवर्तन गर्दा झण्डै गाडी खरिदको आधा दाम पनि लाग्न सक्छ । त्यो किसिमको संरचना साथै सिस्टम बनि नसकेका हुँदा कमर्सिलयमा चाहिँ ईभी अहिले चुनौतीपूर्ण छ । नेपाल बीमा प्राधिकरणले कमर्सियल भेहिकलको बीमा सोही अनुसारको नीति बनाइदियो भने सहज हुन्छ ।

तपाईंहरुले ईभी गाडीको मेन्टिनेन्स गर्न जनशक्ति चाहिँ कसरी तयार पारी राख्नु भएको छ ?

-नेपालमा अहिले हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव खड्किएको छ । किनभने मान्छे विदेशिनाले पनि दक्ष जनशक्तिको समस्या भएको हो । यद्यपि ईभी गाडीको आयातकर्ताहरूले आफ्नो ईको सिस्टम आफैं बनाइरहेका छन् । सिप्रदीलाई चाहिने हामी आफैले जनशक्तिको तयार गरेका छौं । जसको लागि तालिम सेन्टर साथै त्यहाँ सोही अनुसारको पूर्वाधारको व्यवस्थापन गरेका छौं । ईभीका गाडीमा समस्या आए मर्मत गर्न सक्ने जनशक्ति हामीसँग छ । आईसीई जस्तो जताततै गाडी बनाउने ठाउँ जस्तो ईभीको छैन । तर, हामी आफैले आफ्नो लागि चाहिने जनशक्तिको तयार गरिसकेका छौं ।

तपाईंले अघि कमर्शिलयल भेहिकलको बिक्री न्यून रहेको बताउनु भयो । यो आर्थिक वर्षमा कमर्शियल सेग्मेन्टको ग्रोथ कस्तो होला ?

-नयाँ सरकार आएपछि बजार चलायमान हुन खोजेको जस्तो देखिन्छ । तर, बजार सुधार भइसक्यो भनेर अहिले भन्न सकिँदैन । किनभने त्यसको रिजल्ट आइसकेको छैन । बसको बिक्रीमा सुधार आएको छ । तर, धेरै असर सामान बोक्ने गाडीमा पर्यो । विकासका कामले गति लिएसँगै कमर्शियल भेहिकलको डिमान्ड पनि बढ्ने हो । योभन्दा अब यसको बिक्रीको ग्राफ घट्ने अवस्था छैन । कति सुधार हुन्छ हेर्न बाँकी छ । सरकारले विकासमा बजेट कसरी खर्च गर्दै जान्छ । त्यो अनुसार थाहा हुन्छ । यदि विकास र निर्माणका कार्य बढे कमर्शियल भेहिकलको माग बढ्छ ।

सेयर बजारले गाडीको खरिदमा खासै ठूलो प्रभाव पार्दैन ।

देशको आर्थिक सूचकहरू राम्रो हुँदै गइरहेका छन् । सेयर बजार बढिरहेको छ । घरजग्गाको कारोबार बिस्तारै बढ्दै जाँदासमेत मान्छेमा गाडी किन्ने कन्फिडेन्स आएको छैन किन ?

-सेयर बजार बढ्यो भने मान्छेले प्राय प्यासेन्जर कार किन्छन् । बिस्तारै त्यो पैसा घरजग्गामा पनि जान थाल्छ । जग्गा मात्र नभई त्यहाँ घर बन्न थाल्यो भने कमर्सियल भेहिकल पनि किन्न आउलान् । सेयर बजारले गाडीको खरिदमा खासै ठूलो प्रभाव पार्दैन ।

नेपालमा गाडीको एसेम्बल प्लान्ट बनाउने कार्यको सुरुवात भइसकेको छ । सिप्रदीकाे योजना के छ ?

-एसेम्बल उद्योग लगाउँदाका चुनौती धेरै छन् । स्थिर नीति र लगानीको सुरक्षा नहुँदा उद्योग लगाउनबाट धेरै उद्योगी पछाडी हटिरहेका छन् । त्यसैले सरकारले लगानीको सुरक्षा र स्थायित्व नीति बनाउन आवश्यक छ । बनाएको नीति १०/१२ वर्षसम्म परिमार्जन हुँदैन । लगानीको सुरक्षा छ भनेर भन्ने हो भने यहाँ धेरै कम्पनीले उद्योग खोल्छन् । आज लगानी गर्यो, त्यो नीति अर्को वर्ष परिवर्तन हुन्छ । उक्त नयाँ नीतिमा केही नकारात्मक विषय आउनेबित्तिकै लगानी डुब्छ ।

सिप्रदीले पनि एसेम्बल उद्योग लगाउने योजना बनाइसकेको छ । जसका लागि कम्पनीको तर्फबाट आवश्यक गृहकार्य भइरहेको छ । नीति नियम केही स्थिर हुने भने प्लान्ट बनाउने भनेर सोचेका छौं । तर, अहिलेको नीति नियम पर्याप्त छैन । यो नीतिको सुनिश्चित हुन्छ भने पछि हामी आउने विषयमा ढुक्क छौं । टाटासँग सहकार्य गरेर कति छिटो ल्याउन सकिन्छ । त्यसपछि काम गर्ने कुरा हो ।

सिप्रदी र यात्रीको सहकार्यमा तयार हुन लागेको ईभी स्कुटर कहिलेबाट बजारमा आउला ?

-यात्रीले नेपालमा दुई पाङ्ग्रे ईभी बाइक बनाउँदै आएको छ । उक्त कम्पनीसँगको सहकार्यमा सबैको पहुँचमा पुग्ने किसिमको दुई पाङ्ग्रे स्कुटर तयार गर्ने योजना बनाएका हौं । यो स्कुटर तयार भएपछि राम्रो पर्फर्मेन्सका हिसाबले पनि उत्कृष्ट हुनेछ । बजारको माग मिट हुने किसिमको स्कुटर हामी आफैंले तयार गर्न सक्छौं भनेर यो कार्य अगाडि बढाएका हौं ।

हामीले आयात गरेर ल्याएर भएपनि स्कुटर बिक्री गर्न सक्थ्यौं । तर, ति स्कुटरहरू त्यो देशको भूगोललाई हेरेर तयार गरिएको हुन्छ । र, यहाँ ल्याएपछि राम्रो पर्फर्मेन्स गर्न सक्दैन । हामी यहाँको लागि माइलेज कति चाहिन्छ, त्यसको क्षमता कति हुनुपर्छ आदि सबै अध्ययन गरिसकेका छौं । र, अहिले यो स्कुटर डिजाइनको फेजमा छ । डिजाइन सकिएको करिव १४ महिनामा यो स्कुटर तयार हुन्छ । सो महिनापश्चात् बजारमा देख्न पाइन्छ ।

सरकारले लगानीको सुरक्षा र स्थायित्व नीति बनाउन आवश्यक छ ।

नाडा अटो शोको आयोजना हुँदैछ । तपाईंहरुले अटो शो पहिलाका भन्दा अहिले भिन्न रहने बताउँदै आउनु भएको छ । यस पटकको अटो शोमा के फरक देख्न पाइन्छ ?

-अटो व्यवसायी र गाडीका खरिदकर्ताहरूको लागि यो शो कुम्भमेला हो । धेरैलाई यो मेलाले उत्साह पनि थपेको छ । यस अटो शोको अवसर पारेर धेरै कम्पनीहरूले नयाँ गाडी पनि सार्वजनिक गर्दैछन् । गाडी किन्ने भनेर सोच बनाई राखेकाहरूको लागि यो अवसर पनि हो । देश ईभीमय हुँदै गएको हुनाले नाडामा पनि ईभी उपस्थिति धेरै छ । उक्त शोबाट धेरै गाडीको बुकिङको अपेक्षा व्यवसायीहरूले लिएका छन् ।

आमग्राहकको आकर्षणमा मेला अवधिभर ईभी नै देखिन्छ । धेरै कम्पनीहरूले आफ्नो प्रडक्ट ल्याइरहेको छ । सिप्रदीले उक्त अवसर पारेर टाटा पन्च ईभी सार्वजनिक गर्ने छ । मान्छेले गाडी किन्दा र चढ्दोको अनुभव राम्रो प्रदान गर्न सकियोस् भनेर लागेका छौं । सबै ग्राहकहरूको लागि नाडा अटो शो अवसर हो । मलाई मेरो आवश्यकता अनुसारको गाडी कुन ठिक छ, त्यो नाडा अटो शोमा आएर हेरेर छनोट गर्न सकियो । ग्राहकले मेलामा आएर अटोमा आएको प्रविधि हेर्न र बुझ्न पनि सक्नुहुन्छ ।

हेर्नुहाेस्, भिडियाे-

Logo