मकैको चटपटे बेचेर आत्मनिर्भर बनेकी सारती

मकैको चटपटे बेचेर आत्मनिर्भर बनेकी सारती

केन्द्रबिन्दु
112
Shares

दाङ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छिन् । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छिन् ।

सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँ काम सुरु गरेको बताइन् । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरूसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उनले भनिन्।

चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनी बताउाछिन् । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छिन् ।

यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उनले बताइन् । “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उनले भनिन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उनले बताइन् ।

Logo