बेइमानी गर्ने नियतले गैरसहकारी तत्त्वहरू घुसेकाले सहकारीप्रति निष्ठा रहेनः प्रधानमन्त्री ओली

बेइमानी गर्ने नियतले गैरसहकारी तत्त्वहरू घुसेकाले सहकारीप्रति निष्ठा रहेनः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीहरूमा समस्या उत्पन्न भएको बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभई गैरसहकारी तत्त्वहरू सहकारीमा घुसेका कारण सहकारीहरूप्रतिको निष्ठा नरहेको बताएका हुन् ।

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याहरूको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ । उनले भने, ‘सहकारी अचानक ठूला भए । सहकारीका मूल्यमान्यताअनुसार चलेनन् । सम्पूर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृति हाबी भयो । हुन त हजारौँ सहकारीमध्ये केहीमा समस्या भएको हो । गैरसहकारी तत्त्वहरू सहकारीमा घुसे । सहकारीहरू गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरे । त्यसले सहकारीप्रतिको निष्ठा रहेन । सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरू प्रवेश गरे । अब सबै सहकारीहरूमा देखिएका समस्याहरू समाधान गरेर अगाडि बढ्छौँ । अगाडि बढाउनुपर्छ ।’

हजारौँमध्ये केही मात्र सहकारीहरूमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने बताए । त्यस्तै, उनले उद्योग, कृषिको आधुनिकीकरणसँग सम्बन्धित साना उद्योगहरूको स्थापनासँगै सेवा क्षेत्रमा नवीन सोचका साथ अगाडि बढ्न अनुकूल वातावरण बनेको बताए ।

‘विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि बढाएर लैजानुपर्छ । उद्योग, कृषिको आधुनिकीकरणसँग सम्बन्धित साना उद्योगहरूको स्थापना र अन्य क्षेत्रहरूबाट काम अगाडि बढाउने र सेवा क्षेत्रलाई गति दिनका लागि नवीन सोचका साथ नयाँ भावनासहित अगाडि बढ्न आवश्यक रहेको छ । स्टार्टअपका लागि अनुकूल वातावरण बनेको छ,’उनको भनाइ छ ।

Logo