अटो क्षेत्रको परिस्थिति अनुकूल नहुँदा व्यवसायी पलायनको मार्ग रोज्दैछन्ः अध्यक्ष करण चौधरी [भिडियाे]

अटो क्षेत्रको परिस्थिति अनुकूल नहुँदा व्यवसायी पलायनको मार्ग रोज्दैछन्ः अध्यक्ष करण चौधरी [भिडियाे]

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी यस क्षेत्रमा देखा परेका चुनौती समाधानका साथै सुधार गर्नुपर्ने नीति नियमका विषयलाई लिएर दौडधुप गरिरहेका छन् । नाडाको नेतृत्वमा आइसकेपछि अटो क्षेत्रलाई अगाडि बढाउन निरन्तर लागि रहेका चौधरी व्यवसायीहरुको आशाको दियो थप उज्यालो बनाउने काममा लागि रहेको बताउँछन् । यद्यपि सरकारले यस क्षेत्रको समस्या साथै आवश्यकता महसुस गर्न नसक्दा अटो व्यवसायीको गुनासो भने सम्बोधन हुन सकेको छैन ।

यसैबीचमा नाडाले यही भदौ ११ गते अटो शोको आयोजना गर्ने तयारी गरिरहेको छ । उक्त शोले अटो व्यवसायीको आशमा दम थप्ने र नयाँ गाडी खरिद गर्नेहरूका लागि उपयुक्त हुने चौधरी बताउँछन् । उनै चौधरीसँग नेपाली वर्तमान अटोमोबाइल्सको अवस्था, नाडाले आयोजन गर्न लागेको अटो शोका आकर्षणमा हुने बस्तु साथै अटो क्षेत्रका सरकारले चाल्नुपर्ने कदम आदि जस्ता विषयमा केन्द्रित रही केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश–

नेपालको वर्तमान अटो बजारलाई यहाँले कसरी लिनुभएको छ ? अटो व्यवसायप्रति वर्तमान सरकार कत्तिको सकारात्मक छ ?

-नाडाले यस क्षेत्रमा देखिएका समस्यालाई समेटेर बजेट बनाउनु अगावै सुझाव पत्र बुझाउने गर्दै आएको छ । सुझाव दिइन्थ्यो तर अपेक्षा धेरै हुँदैन थिए । बिस्तारै अटो क्षेत्रका लागि सरकारबाट माग्ने के ? र, स्टेकहोल्डर्सलाई के दिने भन्ने आभास भयो । जसपश्चात् मौद्रिक नीति मार्फत् अटोका केही विषयहरू समेटियोस् भनेर जटिल जटिल ७ वटा मागहरू राख्यौं ।

सरकारले अटो क्षेत्रको रोड म्याप बनाउनुपर्यो । अस्तव्यस्त रूपमा चारतिर लाग्यौं भने हामी कतै पुग्दैनौं ।

मौद्रिक नीतिले जीविकालाई परिवर्तन गर्न सक्छ भने ति माग राख्नु उचित थिए । अटो क्षेत्रको जीविका अहिले समस्यामा छ । यस्तो अवस्थामा ति मागहरू सम्बोधन गर्नु पर्याे भनेर भनेका थियौं । पहिला मौद्रिक नीति भनेपछि गभर्नर केन्द्रित मात्र हुन्थ्यो । तर, मैले यसपटक प्रधानमन्त्री, गभर्नर, राज्यका संयन्त्र आदिलाई अटोको समस्या बुझाउन जरुरी थियो । किनभने गभर्नरले मात्र हामीले राखेका माग समेटेर हुँदैन कि भनेर मैले सबै जनालाई बुझाउन प्रयास गरे ।

तर, सम्बोधन हुन सकेन । म अरूलाई दोष देखाउँदिन, आफैलाई दोष देखाउँछु । किनभने यस क्षेत्रमा देखिएका समस्या र गर्नुपर्ने काममा बारेमा त्यति मज्जाले बुझाउन सकिनँ की जस्तो मलाई लाग्यो ।

मौद्रिक नीतिले पनि अटो क्षेत्रलाई बेवास्ता गर्यो, ६८ प्रतिशतसम्म गिरावट आएको यस क्षेत्रका विषय सम्बोधन नगर्नुको कारण चाहिँ के पाउनु भयो ?

-यो विषयमा म आफैं अन्योलमा छु । सरकारले केही वर्षअघि विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै गाडीको आयातलाई रोक्याे । र, अटो सेक्टरको वर्गीकरणमा राखेको बस्तुलाई नेपालभित्र प्रवेश गराउन छाड्यो । त्यो बेला अटो क्षेत्रलाई फोकस गर्नुहुँदैन भन्नेसम्म अवस्था पुगेको थियो । उक्त बेलाको मौद्रिक नीतिमार्फत पनि धेरै विषय परिवर्तन गरिएका थिए ।

त्यो मौद्रिकबाट लोन पाउने, सर्भिस इन्कम लगायतका धेरै विषय पूर्णरूपमा परिवर्तन गरिदिएको थियो । त्यो बेला अटो क्षेत्र बन्द गर्नको लागि एउटा बहाना मात्र चाहिएको थियो वा अटो सेक्टर पलायन हुन् भनेर अदृश्य भन्नु भएको थियो । त्यसको चाहिँ म उत्तर खोजीरहेको छु । अहिले बैकमा पैसा छ, विदेशी मुद्रा सञ्चिति बढ्दै गर्दासमेत यस क्षेत्रमा लगानी बढाउन नसकेको अवस्था हो ।

अहिले निजी क्षेत्रमा व्यवसाय गर्ने मान्छेहरूले चोर, फटाहा, डाँकाको ट्याग पाइसके । दृष्टिकोण परिवर्तन अपरिहार्य देखिन्छ ।

सरकारसँगको तालमेल अझै नाडाले सुदृढ बनाउन नसकेरै यस क्षेत्रलाई बेवास्ता गरिँदै आएको हो ?

-सरकारसँग नाडाको सम्बन्ध सदैव सुदृढ रहिरहन्छ । भनेको समयमा आफ्ना कुराहरू राख्नुका साथै भेट्न पाएका छौं । त्यो एकदमै राम्रो पक्ष छ । तर, उहाँहरू अटो सेक्टरमुखी हुन सक्नुभएको छैन । जबसम्म सास रहिरन्छ तबसम्म आश रही रहन्छ भने जस्तै, अटो सेक्टर सकारात्मक लयमा आउने आशा व्यवसायी छन् । हामीले अटो क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान भुल्नुहुँदैन । यस क्षेत्र चलायमान हुँदा २२ प्रतिशतसम्म योगदान दिएको थियो भने अहिले ९ प्रतिशतमा झरेको छ । अटो सेक्टर अगाडि बढाउनको लागि निरन्तर भिड्नेछु ।

तपाईं आफैंले भन्दै आउनु भएको छ, अटो व्यवसायी ऋण नतिरी पलायन हुने अवस्था आयो भनेर । किन व्यवसायी ऋण नै तिर्न नसक्ने अवस्थामा पुगे ?

-पहिला ऋण लिएपछि जसरी भए पनि तिर्छु भन्ने भाव हुन्थ्यो । अहिले परिस्थिति अनुकूल छैन । मान्छेमा लिएको ऋण तिर्छु, ऋण खाएर भाग्दिनँ भन्ने मनस्थिति थियो । तर, अहिले उनीहरूमा लिएको ऋण पनि तिर्न सक्दिनँ भन्ने मनासाय आइसकेको छ । देशमा केही गर्न सकिन्छ, यही देशमा बसी राख्न सकिँदै भन्ने सोच सबैको भइसक्यो । यसले व्यवसायीहरू समस्याबाट भाग्न थालेको देखिन्छ । समस्याबाट भाग्न थालेपछि मान्छेमा सजिलो उपया पनि आउँछन् ।

देशबाट यदि म पलायन भएँ भने मलाई खोज्न तपाईं कहाँ जानु हुन्छ ? मैले लिएको ऋणको भार कसलाई पर्छ ? त्यसैले समस्या हामीले नै भोग्ने हो । अटो सेक्टरलाई जति खुम्च्याउँदै लग्यौं । त्यति हामी पछि र समस्यामा पर्दै जानेछौं । म यो देशमा केही गर्न सकिन्छ र बाहिर जान्न भन्ने धारणा बनाएर व्यवसाय सुरु गरेको मान्छे हुँ । मैले जे गर्छु यो देशमा गर्ने छु ।

मान्छेमा पहिला देशमै केही गर्छु भन्ने ठोस कुरा पाउँथे । तर, अहिले क्रेज घट्दै गएको छ । सरकारले यो विषय बुझ्न आवश्यक छ । युवा शक्ति पलायन हुँदाको असर यो क्षेत्रमा पनि परिरहेको छ । यहाँको इन्जिनियरहरू विदेशमा गएर इन्जिनियरिङमै फोकस भएको देख्न पाइन्थ्‍याे । तर, यहाँका इन्जिनियर विदेश गएर भाडा माझ्न सुरु गर्दा चाहिँ दुःख लाग्छ । यसले हाम्रो स्किल म्यानपावर अनस्किल विषयमा काम गरिरहेको देखाउँछ ।

अटोका समस्या यस्ता छन्, यी–यी विषयमा सुधार गर्नुपर्छ भन्ने सरकारलाई बुझाउने पक्षमा किन चुक्नुभयो ?

-हो, यो कुरा मैले स्विकार्नुपर्छ । मैले यो क्षेत्रको बारेमा बुझाउन सकिनँ । सरकार जस्तो संयन्त्र बुझ्न सक्दैन भनेर म मान्दिनँ । तर, मैले बुझाउने तरिका ठिक भएन कि जस्तो मलाई लागेको छ । नयाँ प्रयास र नयाँ तरिकाबाट बुझाउने कोसिस गरिरहेको छु । नाडा अध्यक्षमा बसेर जिम्मेवारी सम्हालेको ६ महिना नहुँदै म अस्थिरताको चरम बिन्दुमा पुगेको छु । किनभने मैले यो बीचमा तीन जना अर्थमन्त्रीलाई भेट्नु परिसक्यो । छिटो-छिटो हुने सरकार परिवर्तनले दुःख पाइयाे । अनि यहाँका समस्या कतिलाई बुझाउने, कुन रूपमा बुझाउने ?

देशबाट यदि म पलायन भएँ भने मलाई खोज्न तपाईं कहाँ जानु हुन्छ ? मैले लिएको ऋणको भार कसलाई पर्छ ?

एउटालाई राम्रोसँग बुझाउन नपाइ अर्को आइसकेको हुन्छ । त्यसले गर्दा मलाई निराशातिर धकेली रहेको छ । आशा गरौं, स्थिरतातर्फ देश अगाडि बढ्नेछ । अहिले जुन तरिकाबाट सरकारी संयन्त्र परिवर्तन भएकाे छ । यसले आशा पनि जगाएको छ । बुझ्न चाहने मान्छेलाई बुझाउन सकिँदो रहेछ । तर, बुझेकै मान्छेलाई बुझाउन गाह्रो छ । अहिले नै निराशामा म मोडिन्नँ । जुन दिन निराश हुनेछु । त्यो दिन मैले बुझाउन सकिनँ भनेर भन्ने छु । आशा छ उहाँहरूलाई बुझाएरै छाड्ने छु ।

अटो बजार खुम्चिनुको कारक तत्त्व के हो, यसको पुनःरुत्थानका लागि कसले के गर्न आवश्यक छ ?

-अटो बजार खुम्चिनुको दोष म सञ्चारमाध्यमलाई पनि दिन्छु । हामी अर्थतन्त्र र समाजका खुम्चियो भन्छौं । जसमध्ये एक सञ्चारमाध्यम पनि हुन् भन्ने ठान्छु । दिनमा अटोका १/२ वटावाहेक बाँकी ९८ प्रतिशत समाचार नकारात्मक हुन्छ । त्यसैले सञ्चारमाध्यमले पनि यस क्षेत्रका सकारात्मक पक्ष साथै समस्या उठाइदिए सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण अवश्य परिवर्तन हुन्छ ।

अहिले निजी क्षेत्रमा व्यवसाय गर्ने मान्छेहरूले चोर, फटाहा, डाँकाको ट्याग पाइसके । त्यसैले व्यवसायीलाई हेरिने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको देखिन्छ । अटो ग्रोथ भए अन्य सेक्टरको पनि विकास हुन्छ । अरू देशमा अटो सेक्टर अर्थतन्त्रको मेरुदण्ड भनेर बुझ्छन् । तर, यहाँ यसले महत्व र योगदान बुझ्न नसक्दा यसको व्यवसाय समेत गाह्रो अवस्थामा पुगेको हो ।

एउटै लेबलमा आईसीई र ईभीलाई राखौं । नीति उस्तै बनायौं भने अवश्य आईसीईको बिक्री बढ्छ ।

अटो सेक्टर लचिलो छ । हामी धेरै विषयमा चाहिएको छैन । नीतिगत स्थिरता भयो भने बिजनेसको थप रणनीति बनाउन सकिन्थ्यो । सरकारले ५ वर्षमा अटोमा यस्तो काम गर्ने साथै यस्ता नीति बनाएर अगाडि बढ्ने ग्राफ बनायो भने म त्यो अनुसार मेरो बिजनेसलाई प्लान गर्छु । सरकारले यस क्षेत्रको रोड म्याप बनाउनु पर्यो । अस्तव्यस्त रूपमा चार तिर लाग्यौं भने हामी कतै पुग्दैनौं ।

जब बजेटको समय आउँछ । तब व्यवसायीमा ठूलो त्रासको पैदा हुन्छ । किनभने उक्त बजेट मार्फत् करका दर साथै नीति नियम परिवर्तन हुने भएकाले । त्यसैले यदि स्थिर नीति नियम भएको भए ढुक्क भएर लगानी गर्न सकिन्छ भनेर व्यवसायीले माग राख्दै आएका हुन् । सरकारले पहिला ईभीको जुन छुट दियो । त्यो एकदमै राम्रो थियो । त्यसको रिजल्ट अहिले ईभी उद्योग देखिन्छ । अहिले जसरी ईभीमा लगानी भइरहेको त्यसको स्थिरता भएन भने आगामी दिनमा ठूलो दुर्घटना निम्त्याउने वालामा छ ।

त्यसो भए सरकारले ईभीमा कस्ता नीति लिन जरुरी छ त ?

-सरकारले ईभी वातावरण मैत्री र विद्युत् खपत गर्ने सक्ने सवारी भएकाले प्राथमिकता दिएको छ । देशमा विद्युतको उत्पादन खेर गइरहेको अवस्थामा खपत गर्ने माध्यका रूपमा ईभी आउँदा यसको प्रोत्साहन गर्नु स्वभाविक हो । अहिले सरकार आफैं ईभीमुखी हुँदै गइरको छ । उक्त विद्युतलाई प्रयोग गर्नको लागि ईभी राम्रो हो भनेर ईभीमुखी सरकार भएको छ । यो सोच स्थिर रहाेस् । तर, ईभीकै कारण आईसीई गाडीको बिक्रीमा समस्या आयो भन्ने जुन सोच समाजमा पलाएको छ । त्यो गलत छ ।

किनभने पेट्रोल गाडी आउनु अगाडि डिजेलका पनि गाडी थिए । त्योभन्दा पहिला कुनै–कुनै गाडी मट्टितेलबाट पनि चल्थ्यो । पेट्रोलका कारणले डिजेलका गाडीमा कमी आयो भन्न मिल्दैन । यसलाई समयको मागका रूपमा लिनुपर्यो । विकसित केही मुलुकहरूले ग्राहकलाई उल्टै पैसा दिएर ईभी चढ्न लगाइरहेका छन् । अझै पनि ग्राहकको ठूलो संख्याले आईसीईलाई प्राथमिकता दिएका छन् ।

आईसीईको बिक्री घट्नुको मुख्य कारण मौद्रिक नीति हो ।

हामी प्रतिस्पर्धात्मक खुला अर्थतन्त्र भन्छौं । तर, नीति नियम यस्तो बनाएका छौं, एउटा क्षेत्रलाई पूर्ण रूपमा वञ्चित गरौं । र, एउटा क्षत्रेलाई प्रमोट गरौं भन्ने छन् । त्यो भनेको यही प्रयोग गर्नुपर्छ भनेर धकेली रहेकाे हो । एउटै लेबलमा आईसीई र ईभीलाई राखौं । नीति उस्तै बनायौं भने अवश्य आईसीईको बिक्री बढ्छ । मैले यसो भन्दामा फोरी ईभीको बिक्री घट्छ भन्ने हैन ।

तपाईंले ईभीले गर्दा आईसीईको बिक्री घटेको हैन भन्नुभयो । त्यसो भए के कारणले गर्दा आईसीईका बिक्री दर घटेको हो नि ?

-आईसीईको बिक्री घट्नुको मुख्य कारण मौद्रिक नीति हो । आईसीई भेहिकल ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने ईभीलाई २० देखि ३० प्रतिशत डाउनपेमेन्ट गरे पुग्छ । ईभीमा विदेशी बैंकहरुको पनि चासो छ । त्यो अनुसार ग्रिन फण्ड भनेर नेपालमा धेरै पैसा आइरहेको छ । त्यसले मात्र लोन ड्राइभ गर्ने हैन । यद्यपि मौद्रिक नीतिबाट ठूलो अपेक्षा लिएका थियौं । अब हुने मौद्रिक नीतिको समीक्षाबाट मागहरू पूरा हुन्छ भन्ने विषयमा आशावादी छौं ।

नेपाली अटो व्यवसायीहरूले मास ट्रान्सपोर्टेशनमा लगानी गर्न सक्ने सम्भावना छ कि छैन ?

-मास ट्रान्सपोर्टेशन भनेको एउटा सोच हो । यसलाई हामीले स्विकार्न सक्नुपर्छ । विकसित मुलुकमा मास ट्रान्सपोर्टेशन समय अनुसार चल्छ । त्यहाँ सिस्टम अनुसारको मास ट्रान्सपोर्टेशन बनाउन सक्यौं भने म पनि यसको प्रयोग गर्न तयार छु । किनभने मलाई समयको जरुरत छ । जहाँ मास ट्रान्सपोर्टेशनको कमी हुन्छ त्यहाँ निजी सवारीको बढी प्रयोग गरिन्छ । विदेशमा हत्तपत्त कहिले जाम हुँदैन । किनभने ट्राफिक म्यानेजमेन्ट सोही अनुसारको हुन्छ । यहाँ पनि उक्त किसिमको सिस्टम कायम गर्न सक्यौं भने जाम भेट्दैनौं ।

तपाईं नाडाको अध्यक्ष हुन अगावै मलमपट्टी लगाएर भए पनि अटो व्यवसायीहरूमा आशा जगाउँछु भन्नुभएको थियो । त्यो आशाको दियो व्यवसायीहरूले महसुस गर्न पाए ?

-मैले त्यो आशाको दीप जोखिम भारबाट पाएँ । मौद्रिक नीतिमा मैले राखेका विषय सम्बोधन भएन । त्यो आशाको दियोलाई तेल थपेर अझ उज्यालो बढाउने कोसिसमा लागिरहेको छु ।

नाडा अटो शो पनि नजिकिँदै छ, यो एउटा अटो व्यवसायीहरूको आशाको केन्द्र पनि हो, यसपटक तपाईंहरुको तयारी के छ, आकर्षण के हुन् ?

-नाडाले आयोजना गर्ने ‘नाडा अटो शो’ सम्भवतः यो मुलुककै सबैभन्दा ठुलो एक्स्पो हो । सरकारलाई अटो पनि छ भनेर फिल दिने गरी यो शो आयोजना हुनेछ । हामीले अटो क्षेत्रहरूलाई सबै खण्डलाई उतिकै प्राथमिकता दिएका छौं । कमर्शियल, चार पाङ्ग्रे, दुई पाङ्ग्रे विभिन्न ब्रान्डका सवारीहरू त्यहाँ हुने छन् ।

विगतको अटो शोमा दुई पाङ्ग्रेलाई रोचक रूपमा लिइन्थ्यो । किनभने दुई पाङ्ग्रेमा युवाहरू झुम्मिन्थे । देशबाट युवा पलायन हुँदै जाँदा अहिले दुई पाङ्ग्रेको व्यापार घटेको छ । दुई पाङ्ग्रेको पनि भयावह स्थितिमा छ । दुई पाङ्ग्रे मान्छेले किन किनिरहेका छैनन् भनेर सर्भे भइरहेको छ । यसको उत्तर कि ग्राहक छैनन् कि ग्राहक ईभीतिर माेडिए भनेर ठूलो बहस सिर्जना भएकाे छ । ईभी मात्र अटो हाेइन भनेर सरकारलाई बुझाउनु छ । ईभी बाहेक अटोको अन्य क्षेत्र नकारात्मक दिशातर्फ उन्मुख छ ।

नाडा अटो शो सरकारमा समर्पित राखेको छु । मैले सरकारका हरेक निकायका अधिकारी सरकारमा बसेकालाई नाडा अटो शोको अवलोकन गर्न आउनु होस् भन्ने अनुरोध गरेको छु । उहाँहरूलाई म आजको दिनमा अटो शो साथै अटो सेक्टर भएन भने जीविका समा कत्रो ठुलो असर पुर्याउछ भनेर बुझाउन चाहन्छु ।

नाडा अटो शो पश्चात् यस क्षेत्र चलायमान होला ?

-हाम्रो लागि दशैँले जति महत्व राख्छ त्यो भन्दा बढी नाडा अटो शोले राख्ने गर्छ । अटो शो आएपछि व्यवसायीलाई पनि आशा जगाउँछ । यस पटकको अटो शोले व्यवसायीको त्यो आशामा दम दिन्छ ।

जबसम्म यो त्रास र भय रहिरहन्छ । तबसम्म उद्योग खोल्न र प्रोत्साहन गर्न चाहिँ म लाग्नेवालामा छैन ।

नाडा अटो शोमा सुजुकीका कुन–कुन गाडी देख्न पाइन्छ ?

-सुजुकीको नयाँ गाडी आइपुगेको छैन । तर, हाम्रा गाडीमा कस्ता प्रविधिको प्रयोग भएको रहेछ भनेर देख्न पाउनु हुनेछ ।

सुजुकीको ईभी गाडीको चर्चा निकै अगाडिदेखि भइरहेकाे हो । तर, अझै बजारमा आउन सकेको छैन । अब कति समयको प्रतिक्षापछि सुजुकीको ईभी बजारमा देखिन्छ ?

-सुजुकीले जहिले पनि चार पाङ्ग्रे सवारी साधन बनाउँदा आम नागरिकलाई हुनेगरी बनाउँदै आएको छ । भ्यालु फर मनिलाई आधार बनाएर गाडी उत्पादन गर्दै आएको सुजुकीले ईभी छिट्टै बजारमा ल्याउने छ । केही फरक र खास भएकै कारण समय लिएको बुझ्न सकिन्छ । बजारमा आएपछि यो सुजुकीको ईभी धेरै ग्राहकको रोजाइमा पर्छ । सुजुकीको ईभीको प्रतीक्षा अब धेरै गर्नु नपर्ला । सम्भवतः सुजुकीले सबैभन्दा सस्तो ईभीमा गाडी निकाल्ने छ ।

देशबाट युवा पलायन हुँदै जाँदा अहिले दुई पाङ्ग्रेको व्यापार घटेको छ ।

नेपालमा सुजुकीको एसेम्बल प्लान्ट कहिले स्थापना हुन्छ ?

-डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा उहाँले मलाई तपाईंहरु एसेम्बल उद्योग नलगाउने भनेर सोध्नु भएको थियो । उहाँलाई उद्योगमैत्री वातावरण सिर्जना गरी स्थिर नीति लिनुहोस् ९ महिनाभित्र एउटा अटोको प्लान्ट खडा गर्छु मैले भनेको थिएँ । यो आज भन्दा ४/५ वर्ष अगाडिको कुरा हो । हुन्डाईले आफ्नो प्लान्टको स्थापनामा गरेको छ ।

तर, म अझै पनि प्लान्ट लगाउन सक्छु भनेर कन्फिडेन्स छैन । औद्योगिक साथै स्थित नीति भएको खण्डमा ९ महिनाभित्र प्लान्ट तयार गरिसक्छौं । औद्योगिक अन्यौलता जब हट्छ अनि मात्र सोच्न सकिन्छ । जबसम्म यो त्रास र भय रहिरहन्छ । तबसम्म उद्योग खोल्न र प्रोत्साहन गर्न चाहिँ म लाग्नेवालामा छैन ।

हेर्नुहाेस्, भिडियाे-

Logo