घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छः उपसभामुख

घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छः उपसभामुख

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेका बताएकी छिन् । नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताएकी हुन् ।

‘बालसंक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरूरी छ’,उनले भनिन् । दृष्टिविहीन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्नेगरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन् ।

उपसभामुख रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने र यसले आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुर्‍याउने बताइन् । नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उपसभामुख रानाले एकता जरूरी रहेको बताइन् । आवश्यक पर्दा आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

आदिवासी जनजाति समुदायले शिक्षालाई जोड दिएर नेतृत्वमा आउन प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निर्वाह गर्न सक्षम हुनुपर्ने उपसभामुख रानाको सुझाव थियो । कालीगण्डकी करिडोर सडक सुन्दर रहेको तर ठाउँ ठाउँमा पहिरोले भत्केको भन्दै सुधारका लागि आफूले अर्थमन्त्री विष्णु पौडेलसँग पहल गर्ने उनले प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा आदिवासी जनजाति महासंघका अगुवाले क्षेत्रका समस्याहरूको बारेमा मागपत्र बुझाएका थिए ।

Logo