एनसेलको सामाजिक उत्तरदायित्व पहल सातै प्रदेशमा

एनसेलको सामाजिक उत्तरदायित्व पहल सातै प्रदेशमा

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । एनसेलका व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८ औँ वर्षका लागि १८ वटा सामाजिक पहलहरूका लागि आवेदन खुला गरेको थियो । यसै पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्यहरू सातै प्रदेशमा कार्यान्वयन भइरहेका छन् ।

देशव्यापी रूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आह्वान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । ती प्रस्तावहरूको मूल्यांकन गरी छानेर सीएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ वटा विकास कार्यहरू छनोट गरी कार्यान्वयनमा ल्याइएका हुन् ।

छानिएका परियोजनाहरूमा बागमती प्रदेशका लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्यूजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवर्द्धको कार्यक्रम तथा शिक्षा सम्बन्धी कार्यक्रमहरू रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारणले गर्दा स्कूल जान छाडेका तथा स्कुलबाट बाहिर रहेका बच्चाहरूलाई पुनः स्कूल पठाउनका लागि स्कूल फर आउट अफ स्कूल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्य सम्बन्धी न्यूट्रिसन, वास सम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवर्द्धनका लागि ग्रिन बक्स कार्यक्रम रहेका छन् ।

त्यसैगरी कोशी प्रदेशको लागि ६,००० महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणका लागि आउने पर्यटकहरूको सुरक्षाका लागि जनसचेतना कार्यक्रमहरू रहेका छन् । लुम्बिनी प्रदेशको हकमा विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयहरूमा ग्रिन स्कूलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेको छ ।

मधेश प्रदेशमा युवाहरूको क्षमता विकास तथा जीविकोपार्जनका लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् । सुदूरपश्चिम प्रदेशका ५ वटा मोडल स्कुलमा स्टेम एजुकेशन, बैतडीका ५६ वटा स्कुलका शिक्षकहरूको तालिम तथा विकासका आयोजना रहेका छन् भने नवीकरणीय ऊर्जा प्रवर्द्धनसम्बन्धी परियोजनाहरू सञ्चालनमा रहेका छन् । कर्णाली प्रदेशमा वास सम्बन्धी व्यापक कार्यक्रम तथा फोहरमैला वर्गीकरण तथा फोहरबाट कम्पोस्ट मलको उत्पादन सम्बन्धी कार्यक्रमहरू रहेका छन् ।

आयोजनाको अवधारणा, यसले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यन्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्यहरू छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्रहरू जस्तैः शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयनमा लगिएका छन् ।

“यो कार्यक्रम अन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्य सम्बन्धी परियोजना गर्दै छौँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेशनको प्रवर्द्धनको काम हुन्छ । त्यसैगरी मधेस प्रदेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दै छौँ भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दै छौँ । यी केही उदाहरण हुन् ।” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, “सातै प्रदेशमा कार्यान्वयन हुँदै गरेका हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ ।”

दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरूप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । प्राप्त प्रस्तावित आयोजनाको महत्त्व र प्रभावका आधारमा कुनै प्रदेशहरूमा दुईभन्दा बढी परियोजनाहरू छानिन सफल भएका छन् ।

एनसेलले आफ्नो स्थापनापश्चात् शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले आर्थिक वर्ष २०८०÷८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्बभन्दा बढी राजस्व तिरिसकेको छ ।

Logo