‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

केन्द्रबिन्दु
42
Shares

म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउँदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ÷दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेँशी गर्दथेँ । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन ।,” उनले भने “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरू छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन् । “छोराछोरी विदेश र शहर पसेपछि हामी बुढाबुढीले घर कुर्ने कि गोठ कुर्ने भएको छ,” उनले भने “घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।” १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरू अहिले रित्ता हुँदै गएका थापाले बताए । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन् ।

वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पूर्वप्रधानपञ्च विष्णुबहादुर थापाले बताए ।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिबुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरू निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए ।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुहरूसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेशभन्दा गोठ नै राम्रो भएको अनुभव सुनाउँछन् ।

“दुखः त यहाँभन्दा विदेशमा कति हो कति,” उनले भने “मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए ।

Logo