बजार चलायमान हुन थालेकाले आर्थिक सुधारलाई तीव्र बनाउन अध्यक्ष ढकालको आग्रह

बजार चलायमान हुन थालेकाले आर्थिक सुधारलाई तीव्र बनाउन अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा विस्तारै सुधार देखिन थालेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका हुन् ।

उनले बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्यका लागि पनि आग्रह गरेका छन् । देशभित्र सेयर बजारमा उत्साह रहेको र घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको तथा कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको, विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरूलाई विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

यस्तै उनले थप पर्यटक आकर्षित गर्न पोखर तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्र्याउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको छ । यसअघि महासंघले भारतमा दुईपटक र चीन तथा दुबईमा यस्तै चार वटा लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ । लगानीकर्ताहरूको मागबमोजिम महासंघले स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पुर्‍याइरहेको छ ।’

सो अवसरमा आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्य योजनामा समेटिएको भन्दै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई धन्यवाद समेत ज्ञापन गरे ।
अध्यक्ष ढकालले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गरेका छन् । उद्योग व्यवसायले खपत गर्ने विद्युत्लाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन र ह्वीलिंग चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनुपर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै अध्यक्ष ढकालले यसबाट स्टार्ट अप, जलविद्युत् लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको पनि बताए ।

यस्तै उनले निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएकाले अख्तियारको कार्यक्षेत्रभित्र तान्न पर्ने अवस्था नरहेकाले यसमा निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुनेतर्फ पनि ध्यानाकर्षण गराए । निजी क्षेत्रमैत्री कानुनी व्यवस्था र नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुने भएकाले राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

Logo