बजारमा ईभीकै माग बढेकाले नाडा शोमा पनि अत्याधिक ईभी ब्राण्ड नै छन्ः सुरेन्द्रकुमार उप्रेती

बजारमा ईभीकै माग बढेकाले नाडा शोमा पनि अत्याधिक ईभी ब्राण्ड नै छन्ः सुरेन्द्रकुमार उप्रेती

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । भोलिदेखि काठमाडौँमा नाडा अटो शो–२०२४ को आयोजना हुँदै छ । हरेक वर्ष झै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यसवर्ष पनि कार्यक्रम आयोजनाको तयारी गरेको छ । मेलामा विद्युतीय गाडीको बाहुल्यता रहेको संस्थाका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् । पछिल्लो समय बजारमा ईभीकै वर्चश्व बढिरहेकाले नाडा अटो शोमा सहभागी ब्राण्डहरू पनि अत्याधिक ईभी ब्राण्ड नै रहेको उप्रेतीले बताए ।

उप्रेतीले भने, ‘मेलामा सहभागी हुने ब्राण्डको संख्या बढ्दै जाने तर मेलास्थल उही पुरानै हुँदा स्थानको व्यवस्थापन निकै चुनौतीपूर्ण हुने गरेको थियो । तर, यसपटक हामीले प्रदर्शनी हलसँगै रहेको गार्डेनलाई समेत प्रयोगमा ल्याउने भएका छौँ । जसकारण मेलास्थल पहिलेभन्दा व्यवस्थित हुनेछ । मेलालाई भव्य र व्यवस्थित बनाउन हामीले पार्किङमा विशेष ध्यान दिएका छौँ । यसैगरी दर्शकको सुरक्षा र सहजताका लागि पनि विशेष व्यवस्था मिलाएका छौँ ।’

केही कम्पनीले ईभीसँगै पेट्रोलियम कारलाई समेत प्रदर्शन गर्ने तयारी गरेका छन् । कारमा सुजुकी बाहेक अन्य सबै ब्राण्डसँग ईभी मोडल हुनेछ । यसैगरी मोटरसाइकलमा पनि ईभी ब्रान्डकै वर्चश्व छ । कमर्सियल भेइकलमा पनि ईभीको मात्रै सहभागिता हुने भएको छ भने विभिन्न ब्रान्डका टायर, लुब्रिकेन्ट्स, ब्याट्री, स्पेयर पार्ट्स एबं कम्पोनेन्ट्स र बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता निकै उत्साहजनक रहेको उप्रेतीले बताए ।

‘कतिपय साथीहरूले स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि छुट्टै मेड इन नेपाल पेभिलियन हुनुपर्ने माग समेत गरेका थिए । तर, छलफल हुँदै जाँदा पछिल्लो समय अधिकांश ब्राण्डका मोटरसाइकल स्वदेशमै एसेम्वल हुन थालिसकेको र गाडीको समेत उत्पादन शुरु भइसकेका कारण छुट्टै पेभिलियन नचाहिने मत बलियो बन्न गयो । फलस्वरूप हामीले छुट्टै पेभिलियनको व्यवस्था गर्न सकेनौँ ।’ उनले भने, ‘स्वदेशी उत्पादन थोरै भएकाले यसअघिका अटो शोमा छुट्टै पेभिलियन राखिए पनि पछिल्लो समय स्वदेशी उत्पादन बढेका कारण यसलाई निरन्तरता दिन सकिएन ।’

उनले अगाडि भने, ‘अटोमोबाइल क्षेत्रमा अहिले अनगिन्ती समस्याहरू छन् । हामीले ती समस्याको उचित समाधानका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौँ । बजेट आउनुअघि अर्थ मन्त्रिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्नो कुरा राख्यौँ । त्यसैगरी मौद्रिक नितीमार्फत सम्बोधन हुनुपर्ने कतिपय विषयका बारेमा राष्ट्र बैंकका गर्भनरदेखि अर्थमन्त्री र प्रधानमन्त्रीसम्मै पनि मागहरू राख्यौँ । तर, कुनै पनि निकायले हाम्रो माग सम्बोधन गर्न रुची देखाएनन् । हामीले आफ्नो समस्या राख्दै त्यसको उचित सम्बोधन गरिदिन माग गर्ने हो, तर त्यसलाई सम्बोधन गर्ने या नगर्ने सम्वन्धित निकायको कार्यक्षेत्रको विषय हो । यसमा हामीले हस्तक्षेप गर्नसक्ने कुरा पनि भएन ।’

उनले आफूहरूले राखेका माग केवल अटोमोबाइल व्यवसायीसँग मात्रै सम्बन्धित नभएर आम पब्लिकको पनि सरोकारको विषय भएका कारण यसमा सरकार आफैँ गम्भीर बन्नुपर्ने बताए ।

Logo