मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्ः अर्थमन्त्री

मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्ः अर्थमन्त्री

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतीत गर्नुभन्दा काम गर्न दबाब दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो, २०२४ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

उनले भने, ‘मन्त्रीलाई एउटा अप्ठेरो हुँदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरूलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ । निजी क्षेत्रका छाता संगठनहरू छन् । उहाँहरूले महत्त्वका साथ बोलाउनुहुन्छ । न आऊँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ । आऊँ समय भाषण गर्नमा व्यतीत हुन्छ । त्यसकारण अर्थमन्त्रीले सुन्नेपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनी सहजीकरण गरिदिनहुन सादर अनुरोध गर्दछु ।’

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीतिनियम बनाउने काममा लाग्न दबाब दिन निजी क्षेत्रलाई सुझाए ।

त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे । ‘अहिले बनेको सरकार संसद्ले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो ।’ उनको भनाइ थियो ।

Logo