श्रमदान गरेरै स्थानीयले बनाए काठेपुल

श्रमदान गरेरै स्थानीयले बनाए काठेपुल

केन्द्रबिन्दु
84
Shares

खोटाङ । विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् ।

साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए ।

वर्षाको समयमा खोलामा आउने बाढीले विद्यार्थी तथा स्थानीयलाई आवतजावतमा हुँदै आएको समस्या समाधानका लागि श्रमदानमार्फत काठेपुल निर्माण गरिएको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताए । “बोरा टोलमा ३५ परिवारको बसोबास छ । यहाँका बालबालिका अध्ययनका लागि मखमलेस्थित जनता आधारभूत विद्यालय जानुपर्ने हुन्छ । बीचमा पर्ने बोराखोलामा आउने बाढी तर्न नसक्दा बर्खायाममा यहाँका बालबालिका विद्यालय जान सक्दैनन्”, उनले भने, “बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई लक्षित गर्दै श्रमदानमार्फत बोराखोलामा काठेपुल निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ । श्रमदानमार्फत निर्माण गरिएको काठेपुल सञ्चालनमा आएपछि त्यहाँका विद्यार्थीसँगै स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज भएको छ ।”

गाउँ तथा टोलमा गर्नुपर्ने सानातिना विकास निर्माणका काममा स्थानीयको सहभागितामा सम्पन्न गर्ने उद्देश्यअनुरूप यहाँ हरेक महिनाको एक दिन अनिवार्य श्रमदान अभियान चलाइएको वडाध्यक्ष तामाङले बताए । “खिदिमामा सञ्चालित विकासे योजनामा भलबाढीले पुर्‍याउने क्षतिको मर्मतलगायत सानातिना काम श्रमदानबाटै गर्ने भनेर वडा कार्यपालिकाबाटै निर्णय गरिएको छ”, उनले भने, “सबै कामका लागि राज्यले बजेट उपलब्ध गराउने स्थिति छैन । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीय बासिन्दा स्वतःस्फूर्त सहभागी हुने गरेका छन् । यहाँ ‘आफ्नो गाउँ, आफैँले बनाउनुपर्छ’ भन्ने भावनाको विकास भएको छ ।”

श्रमदानमा सहभागी सञ्जिव राईले पुल निर्माणपछि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालय आवतजावतमा सहज भएको बताए । खिदिमामा सञ्चालन गरिएको श्रमदान अभियानमा सहभागी हुने स्थानीय बासिन्दालाई खुवाइने खाजा स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको छ । आयातित सामग्रीलाई प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाई प्राथिमकता दिन स्थानीय खाद्य वस्तुमात्र प्रयोग गर्ने गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

Logo