भृकुटीमण्डपमा सुरु भयो विद्युतीय अन्तरराष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा सुरु भयो विद्युतीय अन्तरराष्ट्रिय प्रदर्शनी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस’ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले संयुक्त आयोजना गरेको एक्स्पो २३ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अबको १० वर्षमा २८ हजार पाँच सय मेघावट विद्युत् उत्पादन गर्ने र आन्तरिक खपत बढाउने सरकारको लक्ष्यमा यस्तो किसिमको विद्युतीय अन्तरराष्ट्रिय प्रदर्शनीले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

उनले भने,‘हामी २८ हजार पाँच सय मेघावट विद्युत् अबको १० वर्षमा उत्पादन गर्ने, २० हजार मेघावट बिक्री गर्ने र आन्तरिक खपत बढाउने प्रयत्नमा छौँ । त्यसमा यस्ता इलेक्ट्रोनिक, घरायसी उपभोग्य वस्तुहरूले आन्तरिक खपत बढाउन सहयोग पुग्छ । नेपालमा महिलाहरूले घरमा धेरै समय बिताउनुपर्ने अवस्था छ । मुलुकलाई विकास गर्न सहयोग गर्ने समय त्यहाँ खर्च गुर्नपर्ने विषयलाई पनि यसले छोटो बनाएर सहयोग गर्छ ।’

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विद्युतीय उपकरणहरूलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तरराष्ट्रिय व्यापारको सहजीकरण लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

Logo