चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

केन्द्रबिन्दु
196
Shares

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।

धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन् । खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।”

लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । “व्यापारको टुङ्गो हुँदैन कहिले घाटा लाग्छ त कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ”, उनले भने ।

पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन् । खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनले बताइन् । राईले मासिक पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताइन् । प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी र कहिलेकाहीँ बिक्री नभएर फेरि फर्काएर घरै लैजानुपरेको उनी बताउँछिन् । खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको बताइन् ।

धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन् । पन्ध्र वर्षको उमेरदेखि यो व्यवसाय सुरु गरेका उनी प्रत्येक साता एक सयदेखि एक सय ५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्छन् ।

काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए । सबै खर्च कटाएर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म नाफा हुने गरेको बस्नेतको भनाइ छ ।

चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष रु दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ । अध्यक्ष भट्टराईले भने, “वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि यहाँ आउने गरेका छन् । यहाँबाट मुलुकका ठूला सहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको उनले जानकारी दिए ।

Logo